नुवाकोट । वाग्मति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्लाको पञ्चकन्या गाउँपालिका वडा १ स्थित सिद्धेश्वर चमेरो गुफा पद्मसम्भव परिपथ अवलोकन गर्नुभएको छ ।
तादी गाउँपालिकामा आयोजित नेकपा (एकीकृत समाजवादी) को गाउँ सभामा सहभागी हुने जाने क्रममा मुख्यमन्त्री पाण्डेले सिद्धेश्वर चमेरेगुफा पद्मसंभव परिपथ अवलोकन गर्नुभएको पञ्चकन्या १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री पाण्डेले चमेरो गुफा पद्यसंभव परिपथ धामको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने आश्वासन समेत दिनुभएको छ ।
'यही मिति २०७८ चैत्र १९ गते वागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र पाण्डेले पञ्चकन्या गाउँपालिका वडा नं-१मा रहेको श्री सिद्धेश्वर चमेरेगुफा पद्मसंभव परिपथ धामको अवलोकन गर्नुभएको छ,' वडाध्यक्ष लामिछानेले भन्नुभयो, 'अवलोकनका क्रममा सिद्धेश्वर चमेरेगुफा पद्मसंभव परिपथ धाम स्तरोन्नतिका लागि वडाबाट बनेको डिपिआर ग्रहण गर्दै आगामी बजेटमा स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।'
उक्त परिपथ परिसरमा प्रादेशिक बौद्ध पाठशाला गुम्बा बनाउन भन्दै केही समयअघि नेपाल बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङसहितोको टोलीले सम्भाव्यता अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।
चमेरो गुफा (चाङ्खलायी डाग्फू) पवित्र महातीर्थ (ने) मा हरेक वर्ष पुस महिनाको दशमी (छेपा च्यु) का दिन लाखौं बुद्धहरु गुरु रिन्पोछे, देवी देवताहरु र कुल देवताहरुलाई सम्झेर छोगफूल, धूप बत्ती, मर्मी, दार्जो, लुङ्दार इत्यादि चढाई साङ सेरकिम गरेर विश्व शान्तिको पूजा गर्ने गरिन्छ । त्यस्तै गुफामा सेवा, धर्म गरेमा मान्छेले बोलेर गरेको पाप, मनले अरुको निम्ति नराम्रो सोचेको पाप, जिउले गरेको पाप, लोभ, मोह, अहंकार, रिस, कलह, क्रोधजस्ता सबै पापहरुबाट मुक्त हुने जनविश्वास छ । त्यस्तै दु:ख, बिमार, ग्रहदशा, रोग सबै हटेर जाने र मनकामना पूरा हुने विश्वास गरिन्छ ।