काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३.४१ बिन्दुमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४ अङ्कले ओरालो लागेर ४६९.०३ मा सिमित भएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको छ ।
कूल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर रु एक अर्ब ४६ करोड सात लाख ७३ हजार ७२९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा कुनै घटबढ नभए पनि १२ उपसमूहको शेयर भने ओरालो लाग्यो । बैंकिङ ८.३८, व्यापार २८.९३, होटल तथा पर्यटन २३.८६, विकास बैंक ५५.८६, जलविद्युत् ३९.०४, वित्त ३०.६२, निर्जीवन बीमा १७४.६१, उत्पादन ४९.७९, अन्य ६४.१५, लघुवित्त ६८.१९, जीवन बीमा २१६.९९ र लगानी १.२३ अङ्कले ओरालो लागेका छन् ।
नेप्सेका अनुसार आइतबारको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब ६८ अर्ब ४१ करोड १७ लाख ८५ हजार ८९२ बराबर रहेको छ । कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु नौ करोड ७२ लाख ५१ हजार २६९ बराबर भयो ।
सिद्धार्थ इन्स्योरेन्स पाँच करोड एक लाख २९ हजार १७५, नबिल बैंक चार करोड २४ लाख १३ हजार ४३८, नेपाल लाइफ इन्स्योरेन्स चार करोड ११ लाख २२ हजार ९५३ र लाइफ इन्स्योरेन्स कर्पोरेशन तीन करोड ८७ लाख ७७ हजार १३८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
तीन कम्पनीको शेयर मूल्यमा सर्किट
नेप्सेका अनुसार कारोबार भएकामध्ये आइतबार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र नेष्डो समृद्धि लघुवित्त छन् । यस्तै, जाल सामुदायिक लघुवित्त ४.०१ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.४९ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०२, सूर्य लाइफ इन्स्योरेन्स ५.०१, सामलिङ पावर कम्पनी ४.३५, हिमालयन ऊर्जा विकास कम्पनी ४.२३ र नेपाल दूरसञ्चार कम्पनीको शेयरधनीले ४.१९ प्रतिशतले गुमाए ।