रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री केसीले कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुर्मति ढेंगा र सुमन शर्मा रायमाझी तथा सूर्य चुनाव चिह्नबाट निर्वाचित (हृदयेश त्रिपाठी समूहका) स्वतन्त्र सांसद अजय शाहीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री चौधरीले सहरी तथा ग्रामिण विकास, खड्काले आर्थिक मामिला तथा कानुन, यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । रायमाझी, ढेँगा र शाही बिनाविभागीय मन्त्री बन्नुभएको छ । यस्तै नवनियुक्त मुख्यमन्त्री केसीले पनि बिहीबार नै शपथ लिनुभएको हो ।
बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
केसी रोल्पाको निर्वाचन क्षेत्र १ को 'क' बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बन्नुभएको हो ।