काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।
काठमाडौंमा शनिबारदेखि सुरु केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अगाडि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी असोज १० गते सेल र टोल भेला सम्पन्न गर्ने, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँ र नगरपालिका सम्मेलन, मंसिर १५ प्रदेश सम्मेलन सकाउने प्रस्तावमा उल्लेख छ ।
शनिबारको पहिलो दिनको छलफलमा बैठकको कार्यसूची पारित, अध्यक्ष प्रचण्डले राजनीतिक, संगठनात्मक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्नुभएको छ । अध्यक्ष प्रचण्डले देशको परिस्थिति र पार्टीले खेलेको भूमिका र अब खेल्नु पर्ने भूमिकाकाबारे संक्षिप्त रुपमा बैठकमा धारणा राख्नुभएको पनि प्रवक्ता श्रेष्ठले जानकारी गराउनु भयो ।
अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रतिवेदनमा छलफलका लागि ८ समूह बनाइएको छ । जुन समूहरुले आइतबार बिहान ११ बजेसम्ममा अध्ययन गरी रिपोर्ट प्रस्तुत गर्न निर्देशन गरिएको छ । आइतबार बिहान साढे ११ बजे पुन: बस्ने बैठकमा प्रतिवेदनहरुमा समूहगत छलफलको निष्कर्ष सुनाइने छ ।
राजनीतिक प्रतिवेदनहरुमा छलफलपछि अन्य एजेन्डामा प्रवेश गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
केन्द्रीय समितिको औपचारिक बैठक समापनपछि प्रदेशस्तरमा केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक चलिरहेको केन्द्रीय सदस्य हितबहादुर तामाङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार भोलि साढे ११ बजे बैठक बस्नेछ ।