काठमाडौं । तामाङहरुको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको दोस्रो पूर्ण बैठक संघीय कार्यालय चुच्चेपाटी काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।
घेदुङका अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा बसेको बैठकले गत चैत ३० गतेको संघीय सचिवालय बैठकले पारित गरेको प्रशिक्षण तथा ताम्सालिङ जागरण अभियान सञ्चालन, घेदुङ भवन खरिद, संगठन निर्माण, परिचालन तथा शैक्षिक विकास, स्थानीय निर्वाचन लक्षित कार्यक्रमलगायत १७ बुँदे प्रस्तावलाई संघीय समितिको बैठकले सामान्य छलफलपछि पारित गरेको छ । आजको बैठकले पदाधिकारी एवं संघीय समिति सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।
जिम्मेवारी बाँडफाँडअनुसार अध्यक्ष मोहन गोलेलाई प्रशिक्षण तथा ताम्सालिङ जागरण अभियान सञ्चालनको जिम्मेवारी दिने निर्णय गरिएको छ । त्यसैगरी सहअध्यक्ष कुमार घिसिङलाई प्रवास समन्वयको जिम्मेवारी प्रदान गरिएको छ भने वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनलाई नेपाल आदिवासी जनजाति महासंघलगायत अन्य जातीय संघसंस्थाको समन्वयका लागि जिम्मेवारी दिइएको छ । त्यस्तै उपाध्यक्षहरुले प्रदेशस्तरीय जिम्मेवारी पाउनुभएको छ भने महासचिव काजीमान थिङलाई संगठन निर्माण, परिचालन तथा शैक्षिक विकास कार्यक्रम प्रवर्द्धन, उपमहासचिवद्वय जगतमान लामा दोङ कार्यालय तथा जनसम्पर्क र हर्कमान तामाङलाई भ्रातृ संगठन समन्वयको जिम्मेवारी बाँडफाँड गरिएको छ ।
बैठकले संघीय कार्यसमितिका सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिनुका साथै वित्त व्यवसायी कुयाङ लामालाई उपाध्यक्षमा मनोनयन गरिएको छ । नवौं संघीय महाधिवेशनले पारित गरेको विधानअनुसार थप १ सचिव, ९ जना संघीय सदस्य र ७ वटा विभागीय प्रमुखहरुको छनौटका लागि सहअध्यक्ष कुमारसिंह घिसिङको संयोजकत्वमा पाँच सदस्यीय छनौट समितिसमेत गठन गरिएको छ । जुन समितिले एक महिनाभित्र सचिवालयसमक्ष प्रतिवदेन बुझाउनु पर्नेछ । आजकै बैठकमा नवौ संघीय महाधिवेशनमार्फत नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलको तर्फबाट निर्वाचन मण्डलका प्रमुख आयुक्त अधिवक्ता डा.कुन्साङ योन्जन, सदस्य शम्भु गोलेले संयुक्तरुपमा प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो ।
निर्वाचन मण्डलका प्रमुखलगायत सदस्यहरुलाई अध्यक्ष मोहन गोलेले मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । संघीय समितिको तेस्रो बैठक आगामी मंसिर १० र ११ गते एक नम्बर प्रदेशमा गरिने निर्णयसमेत गरिएको छ ।