काठमाडौं । धितोपत्र बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अङ्कले ओरालो लागेको छ । नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत आज नेप्से परिसूचकमा गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर दुई हजार ३८५.६४ मा ओर्लिएको हो ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ मा ओर्लेको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता शेयर एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ८४ अर्ब १२ करोड २८ लाख ६० हजारको हाराहारीमा सीमित भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.८९, व्यापार ६.३९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, जलविद्युत् ४२.८८, निर्जीवन बीमा १२०.६५, उत्पादन ८८.८, अन्य ३४.०१, लघुवित्त ४४.७४, जीवन बीमा २००.८७, सामूहिक लगानी कोष ०.०४ र लगानी १.५ अङ्कले ओरालो लागे । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको चार करोड ९९ लाख ४७ हजार ३८१ बराबरको कारोबार भयो ।
यस्तै, अरुण भ्याली हाइड्रोपावर चार करोड ८६ लाख २५ हजार ३०४, ग्लोबल आइएमई बैंकको ऋणपत्र चार करोड २५ लाख ३५ हजार, हिमालयन डिस्टिलरी चार करोड एक लाख ३९ हजार ७९४ र नबिल बैंक तीन करोड ४९ लाख १७ हजार २७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो ।
जाल्पा सामुदायिक लघुवित्त ४.०३, सामुदायिक लघुवित्त ३.९८, उन्नति सहकार्य लघुवित्त ३.३३ र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । नेप्सेका अनुसार आइतबार २४ कम्पनीको शेयर मूल्य मात्रै उकालो लागेको थियो ।
त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, समालिङ पावर कम्पनी ५.६९ र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले गुमाए ।