सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ८ का भूकम्पपीडितहरुलाई पीडा थपिएको छ । भूकम्पले क्षतिविक्षत घर निर्माणको क्रममा ठगी भएपछि पीडितहरु झन् पीडामा परेका हुन् ।
वडा ८ बेसारेका स्थानीय गगनसिंह स्याङ्बाको २०७२ सालको भूकम्पले घर पूर्ण क्षतिमा परेको थियो । जमिन आफ्नो नाममा नभएपछि पहिलो किस्ता लिए पनि नेपाल सरकारले ऐलानी जग्गामा घर बनाउन निर्देशन दिएको थिएन । सोही अनुरुप स्याङ्बाले २ वर्षसम्म घर बनाउन थाल्नु भएन । सरकाले ऐलानी जग्गामा पनि पायक पर्ने ठाउँमा भूकम्पको घर मापदण्डअनुसार निर्माण गर्न मिल्ने भन्दै निर्देशन गर्यो । बिहान-बेलुका छाक टार्नसमेत कठिन स्याङ्बाले पहिलो किस्ताको ५० हजार रुपैयाँ परिवार धान्न खर्च गरिसक्नु भएको थियो ।
उहाँले भन्नुभयो, '७० वर्ष पुग्न लागिसके घर निर्माण गर्ने मेरो बुतोले नभ्याउने थियो, सरकारले भूकम्पको घर निर्माण नगरे नाम कालोसूचीमा राख्दिने सूचना सुने । आजभन्दा ६ महिना अगाडि गाउँकै चन्ददेवी सामुदायिक वन समितिका अध्यक्ष गीता बिक (बिन्दा) ले घर बनाइदिन्छ भन्दै भूकम्पको कार्ड र नागरिकता मागिन् । आफू भन्दा बुझेको हुनाले मख्ख परे । सबै घर निर्माणको काम उसैलाई सुम्पिए । भूकम्पको घर काठको डिजाइन अनुसारको नक्सा पास गरेर ल्याएको रहेछ । अलि अगाडि डीबीसी ढलान गरियो जसमा भुइँ ढलानमा रड प्रयोग गरिएको थिएन । आफूभन्दा जानेको व्यक्तिले गरेको भन्दै मैले केही भनिनँ जस्ताको छाना, एकापट्टी काठको पटाको बार अनि अर्को पट्टी छाना लाएरर बाँकी जस्ताले बरिदिएकी थिइन् त्यसमै बस्न लागेँ ।'
आँसु पुस्दै उहाँले भन्नुभयो, 'दोस्रो किस्ता र अन्तिम किस्ता लिनेबेला केही बोल्यो भने घर पास हुँदैन भनेकाले मैले केही बोलिन । दोस्रो किस्ता लिन जाँदा बैंकबाट पैसा निकालेर मैले थपक्क गीताको झोलामा राखिदिएँ ।'
खाजा खाने र घर फर्किने भाडा भएन भनेपछि गीताले ५ सय रुपैयाँ हातमा थमाईदिएको बताउनुभयो । अन्तिम किस्ता लिने बेलानी बैंकबाट पैसा लिनेबित्तिकै उनकै हातमा पैसा थमाइदिएँ । फेरि उनले खाजा खानु भनेर ५ सय दिएको बृद्ध स्याङ्बाले बताउनु भयो ।
५० हजारको लगानी नि नभएको घर प्राधिकरणले पास गरिदियो । न त्यहाँ मापदण्ड पूरा भएको छ न घर बलियो छ । गगनसिंह स्याङ्बा त एक उदाहरण मात्र हुनुहुन्छ । बेसार, गोठखोलका दर्जनभन्दा बढी भूकम्पपीडितको नाममा आएको पैसा वन समितिका अध्यक्ष गीता बिकले घर नै पूर्ण निर्माण नगरी घर पास गरेर पैसा बुजिसक्नु भएको छ ।
अध्यक्ष बिकले स्थानीयहरु मानबहादुर बम्जन, गगनसिंह स्याङ्बा, लालबहादुर स्याङ्बा, बिषबहादुर बम्जन, शानिमाया बम्जन, बिर्खबहादुर बम्जन र गंगादेवी सुनुवारको घर निर्माण गर्दिन्छु भनेर स्थानीयलाई बुझ्न लगाउनुभएको थियो । दुबै किस्ता बुझ्दा स्थानीयलाई १ हजार, १ हजार ५ सय खाजा खर्च भनेर हातमा थमाईदिएको स्थानीयहरुको गुनासो रहेको छ ।
स्थानीय मानबहादुर बम्जनको मापदण्डविपरीत घर बनेको छ । मानबहादुरले भन्नुभयो, 'घर निर्माण गर्दा न रड प्रयोग भयो न डबल इँटा लगाइदिए न त घरको छानो नै छ । घर पास गरी तेस्रो किस्ता पनि गीताले लिइन् ।' त्यस्तै स्थानीय मकरबहादुर मोक्तानको भूकम्पको घर निर्माण आफैंले गरे पनि इन्जिनियरले पास गर्दैन भनेर अध्यक्ष बिकले १५ हजार रुपैयाँ पैसा मागेको मोक्तानले गुनासो गर्नुभयो । इन्जिनियरलाई पैसा दिएमात्रै घर पास गर्दिन्छ नभए नाम कालोसूचीमा पार्दिन्छ भनेपछि डरले उनलाई पैसा दिएको बताउनु भयो ।
अर्का स्थानीय शम्शेर स्याङ्बालाई भने घर पास गरिदिएको भन्दै बजारमै ८ नं वडाका २ जना इन्जिनियरले बाटो छेकेर पैसा मागेको शम्शेरकी पत्नीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, 'त्यतिबेला पैसा दिन्न भनेर उम्किएका थियौ तर भोलिपल्ट नै दुवैजना इन्जिनियर घर आएर धम्कीदिए, श्रीमान्लाई मोटरसाइकलमा राखेर घर फिर्ता गर्दिन्छौं अब कालोसूचीमा नाम पर्छ भनेर धम्की दिएपछि १० हजार पैसा दियौं ।'
कालीमाई गोलेलाई वन समितिकी अध्यक्ष बिकले घर पास गर्दिन्छौं, २० हजार दिनु भन्नुभएको थियो । उहाँले म आफै पास गर्छुभन्दा पनि धम्क्याउने, बाटो छेक्ने गरेपछि कालीमाईले गीतालाई पैसा दिएको बताउनु भयो । उहाँले मैले बनाएको घरमा उहाँको किन पैसा लिने भन्दै वडामा खबर गरिन् । वडाले प्रहरीसमक्ष जानुस् भनेर पठाएपछि कालीमाईले प्रहरीमा उजुरी दिनुभएको थियो । गीतालाई प्रहरी कार्यालयमा बोलाएको कालीमाईको पैसा इन्जिनियरलाई दिनका लागि मागेको भन्दै उनको २० हजार पैसा फिर्ता गरिदिएको कालीमाइले सुनाउनुभयो ।
त्यसपछि स्थानीयले थाहा पाएँ कि हामी ठगिएको रहेछौं । ८ वडाका इन्जिनियर सौरव कर्ण र दिपेन्द्र महाशेठको मिलेमतोमा स्थानीय बिकले भूकम्पपीडितबाट विभिन्न धम्की देखाएर पैसा असुली गरेको स्थानीय इन्द्र लामिछानेले बताउनु भयो । गाउँका गरिब, अशिक्षित र असहाय व्यक्तिलाई छानीछानी ठगीएको उहाँले बताउनु भयो ।
ठगी आरोप लागेकी बिकले भने आफूले स्थानीयसँग पैसा उठाएर इन्जिनियरलाई पठाएको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, 'इन्जिनियरको नाम पनि मलाई थाहा छैन । मैले स्थानीयको घर पास हुँदैन भनेरै पैसा संकलन गरेर इन्जिनियरलाई पठाएको हुँ ।' इन्जिनियरले ठगी गरेको भनेर स्थानीयले प्रहरीसमक्ष उजुरी हालेको थाहा पाएर १ लाख २० हजार रुपैयाँ इन्जिनियर दिपेन्द्र महासेठले रकम आइएमईबाट फिर्ता गरेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीले ठगी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासलाई पठाएको जनाएको छ ।