नुवाकोट । चेलीबटी बेचबिखनको मुद्दैमुद्दा खेपेका नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका सुनबहादुर तामाङ नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले दोहोर्याएर टिकट नदिएपछि दुप्चेश्वर गाउँपालिका योविन्द्रसिंह तामाङसँगै सुनबहादुर सोमबार एमालेमा भित्रिनुभएको हो ।
पालिका अध्यक्ष तामाङ, वडाध्यक्ष तामाङलगायतलाई एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी र डा राजन भट्टराई, वाग्मती प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री केशवराज पाण्डे, सदस्य बलराम आचार्य, नुवाकटो जिल्ला कमिटी अध्यक्ष एवं पूर्वमन्त्री बद्री मैनालीलगायतले पार्टी प्रवेश गराउनुभएको थियो । नवप्रवेशी गाउँपालिका अध्यक्ष योविन्द्रसिंहले सोमबार नै एमालेबाट दुप्चेश्वर गाउँपालिकाका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।
सुनबहादुरले ०७४ को स्थानीय तहको चुनावमा दुप्चेश्वर गाउँपालिका–१ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर जित्नुभएको थियो । उहाँ त्यसअघि नै मानव बेचबिखनको मुद्दामा दोषी करार भइसक्नुभएको थियो । प्रहरीका अनुसार सुनबहादुरविरुद्ध २०५१ मा पहिलोपटक विरुद्ध चेलीबेटी बेचबिखनको उजुरी परेको थियो ।
मानव बेचबिखनकै केसमा जिल्ला अदालत नुवाकोटले ०७४ चैतमा सुनबहादुर, उहाँका छोरा रमेश र स्थानीय टीकाराम तामाङलाई कारबाहीको फैसला भएको थियो । तर १० वर्ष जेल सजाय तोकिएका रमेश र ३० वर्षको जेल सजाय पाएका टीकाराम ढिलासम्म कारागारमै रहे पनि उही मुद्दामा ३७ वर्ष जेल सजाय तोकिएका सुनबहादुरलाई उच्च अदालत पाटनले ०७६ असार ३० गते निर्दोष भनिदियो
०६८ मा भारतबाट उद्धार गरिएर आएका तीन महिलाले ०७० सालमा सुनबहादुरले आफूहरूलाई बेचेको भनेर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जाहेरी दिए । यही जाहेरीका आधारमा प्रहरीले मुद्दा चलायो । जिल्ला अदालत नुवाकोटले ०७४ चैतमा सुनबहादुरलाई ३७ वर्षको जेल सजाय तोकेको थियो । त्यसपछि सुनबहादुरलाई प्रहरीले वडा कार्यालय घ्याङफेदीबाटै पक्राउ गरेर काठमाडौं ल्यायो । काठमाडौंमा उहाँविरुद्ध अरू मुद्दा पहिल्यैदेखि चलिरहेका थिए ।