काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा उम्मेदवारी दर्ता भइसकेपनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारीको वातावरण बनाउन निर्देशन दिएको छ । शीर्ष नेताहरूले गठबन्धन दलबाहेक अन्य दलसँग कही कतै तालमेल भएको भए त्यस्तो तालमेलसमेत तत्काल खारेज गर्न निर्देशन गरेका छन् ।
गठबन्धनका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरुमा समेत आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने गठबन्धनले निर्देशन गरेको छ ।
बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरेको छ । गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
गठबन्धनको बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि प्रमुख पदमा तालमेल गर्ने निर्णय भइसकेका ६ महानगर र ११ उपमहानगरका वडा तहमा समेत सिट बाँडफाँट गरी तालमेल गरेर अघि बढ्न निर्देशन गरेको छ । गठबन्धनले सम्बन्धित प्रदेश र जिल्ला संयन्त्रको बुधबारै बैठक राखेर तालमेल गर्न बाँकी रहेका ठाउँमा तत्काल गठबन्धन दलभित्र भागबन्डा गरेर समझदारी गर्न निर्देशन गरेको छ ।
गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णयविपरीत परेका दलगतरुपमा परेका र स्वतन्त्ररुपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने निर्णय गरेको छ । स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन् सम्बन्धित दलले नै पहल गरेर त्यस्तो उम्मेदवारी फिर्ता गराउने गठबन्धनको सहमति छ । गठबन्धनले नगरपालिका र गाउँपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु समेत फिर्ता गर्ने निर्णय गरेको छ ।