नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भीषण वर्षापछि ठाउँ ठाउँमा बाढी पहिरोले दर्जन घरबस्ती जोखिममा परेका छन् ।
शनिबार रातिको भीषण वर्षाले दुप्चेश्वरका घ्याङ्फेदी मैलुङ, शिखरबेंसी, समुन्द्रटार, नौबिसेलगायत क्षेत्रमा बाढी र पहिरोले बस्ती जोखिममा पारेको नेकपा (माओवादी केन्द्र) गाउँ संगठन समिति दुप्चेश्वरका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुप्चेश्वर १ घ्याङ्फेदी मैलुङ बस्तीमाथि पहिरोजाँदा ६ घर जोखिममा परेका छन् । त्यस्तै वडा नंम्बर ७ शिखरबेंसीमा जयबहादुर पण्डितको पसलसहित २ घर, दीपक पण्डितको १ घरमाथिबाट खसेको पहिरोले करेसाबाट आधाआधी पुरेको छ ।
समुन्द्रटार ६ बन्छार केदार, सुनबहादुरलगायत दसौं घर माथिबाट आएको पहिरोले जोखिममा परेको, समुन्द्रटार नौबिसे यामबहादुर तामाङको घरको दुबैतर्फको खोल्सामा आएको भल र पहिरोले जोखिम र त्रास बढाएको, गौंडाको पुलमाथि बिजुलीको पोलसहित सडक भासिँदा समुन्द्रटारमाथि रामतीतर्फको पूरै भेग सडक बत्तिबिहीन भएको पनि अध्यक्ष थापाले बताउनुभयो ।
दुप्चेश्वर मन्दिरको माथि करेजुङ जाने सडक माथिबाट जमिन भासिन थालेकोले तलबाट नदेखिने तर कुनै पनी बेला मन्दिरमाथि पहिरोको छालले छोप्न सक्ने र भक्तजनहरुमा खतरा हुनसक्ने स्थानीय नरबहादुर तामाङले बताउनुभयो ।
यसैबीच माओवादी केन्द्र गाउँ संगठन समिति दुप्चेश्वरले बाढी पहिरोबाट क्षतविक्षत भएका सडकको मर्मत र सडक सञ्चालन गर्न, बिजुली पुन: सञ्चालनमा ल्याउन र जोखिम क्षेत्रबारे तीनैतहका विपद् व्यवस्थापन निकायहरूको घ्यानाकर्षण गराएको छ ।
साथै पीडित नागरिकलाई यथासीघ्र उचित राहत तथा जोखिम न्यूनिकरणको व्यवस्था मिलाउँदै सुरक्षित आवासको व्यवस्था गर्न माओवादी केन्द्र दुप्चेश्वरले माग गरेको छ ।