संघीयता कार्यान्वयनसँगै हुँदै गरेको स्थानीय तहको दोस्रो निर्वाचनलाई अघिल्लोभन्दा फरक तरिकाले हेर्न थालिएको छ । अघिल्लो निर्वाचनभन्दा यस पटकको निर्वाचनमा नागरिक सचेत पनि भएका छन् । भोट माग्न जाँदा खोई अघिल्लो निर्वाचनका घोषणा पूरा गरेको भन्ने प्रश्न पनि उठाइने गरेका छन् ।
यी विभिन्न चुनौतीका बाबजुत पनि सरकारी सेवामा लागेका कर्मचारी राजीनामै दिएर उम्मेदवार बनेका छन् भने पत्रकार अनि कलाकार पनि स्थानीय तहको चुनावमा होमिएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी अभियानमा होमिनुभएको छ । सामान्य किसान परिवारमा जन्मिनुभएका काफ्लेले कलाकारिता र राजनीति समाजसेवा नै भएको हुँदा र आफ्नो वडामा खासै परिवर्तन नभएकोले परिवर्तन गर्ने सोचका साथ निर्वाचनमा लागेको प्रतिक्रिया जनाउनुभएको छ ।
छोटो समयमा कलाकारिता क्षेत्रमा गहकिलो छवि बनाउन सफल काफ्ले केही महिनाअघिदेखि नै नागरिकको घरदैलोमा ब्यस्त हुनुहुन्छ । २०६८ सालदेखि नाटक, रेडियो, टेलिसिरियल, चलचित्र हुँदै उहाँ हाँस्य कलाकारितामा लाग्नुभयो । एक सय जनाभन्दा धेरैको क्यारिकेचर गरेपछि दिनेश काफ्ले अझ चर्चामा आउनुभयो । उहाँको कलाले धरै ठाउँमा अवसर मिल्यो । अन्तर्राष्ट्रियस्तरको डान्स सो मा होस्ट गर्ने मौका पनि उहाँलाई मिल्यो । कलाकारितासँगै सामाजिक कामहरु पनि भइरहेकै थियो । विस्तारै अब आफ्नो गाउँ आफै बनाऔं अभियानमा काफ्ले लाग्नुभएको छ ।
०६१ देखि माओवादीमा आबद्ध
उमेरले झण्डै ३० लागेका काफ्लेसँग धेरै अनुभवहरु छन् । उहाँ २०६१ सालदेखि नै नेकपा (माओवादी केन्द्र)मा आबद्ध हुनुभएको हो । ०६१ मा एक वर्ष उहाँ होलटाइमर नै हुनु भयो । उहाँ त्यत्तिबेला कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो । त्यसपछि फेरि घर फर्किएर अध्ययनलाई निरन्तरता दिनुभयो । ०६२—०६३ को जनआन्दोलनमा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्झनुहुन्छ । त्यो समयमा अखिल क्रान्तिकारीको सक्रिय जिल्ला सदस्य पनि हुनुहुन्थ्यो । त्यसपछि उहाँ अध्ययन र कलाकारितालाई सँगै अगाडि बढाउन काठमाडौं आउनुभयो । कलाकारितामा धेरै समय दिनुभयो ।
तलब भत्ता लिन्नँ
कमलामाई नगरपालिका वडा नम्बर ८ का अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । काफ्ले आफूलाई अन्य उम्मेदवारभन्दा अब्बल र क्षमता भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जनता र अन्य पार्टीका व्यक्तिहरु पनि मेरो पक्षमा हुनुहुन्छ । पछिल्लो समय राम्रोभन्दा पनि हाम्रो छान्ने परिपाटी राजनीतिमा मौलाएकोले यो कुराको अन्त्य गर्न पनि मेरो उम्मेदवारी हो,’काफ्ले भन्नुहुन्छ । ‘वडा नम्बर ८ का नागरिकले भोट दिएर जिताउनुभएको खण्डमा नागरिकको करबाट आउने तलब भत्ता नलिने र नागरिककै सेवामा लगाउने छु । नागरिकलाई समस्या परेको ठाउँमा सहयोग गर्ने मेरो प्रतिबद्धता हो ।’
कमलामाई नगरपालिका वडा नम्बर ८ मा खानेपानीको अभाव छ, यो समस्यालाई समाधान गर्ने मेरो पहिलो प्राथमिकता रहने छ त्यस्तै सडकको स्तरउन्नती, स्वास्थ्य शिक्षा, कृषि प्रमुख प्राथमिकतामा परेका विषयवस्तु हुन् । सो वडामा २ हजार ८ सय मतदाता रहेका छन् । गठबन्धन भने गरिएको छैन ।
०७४ सालमा निर्वाचित जनप्रतिधिले खासै काम नगरेको भन्ने त्यहाँका जनतामा आक्रोश देखिन्छ । ६ वटा अध्यक्षमध्ये आफू नै अब्बल र सक्षम र काम गर्न सक्ने युवा भएकोले निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ । ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थियो तर व्यक्तिगत प्रभावका कारण पनि आफूले वर्डा अध्यक्षमा जित्ने उहाँको दाबी छ ।