तनहुँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आयोजना गरेको आचारसंहिता पालना विषयक अन्तरक्रियामा बोल्दै उहाँले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पोखरेलले लोकतन्त्रलाई सही ढङ्गबाट अगाडि बढाउन निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनबाट सक्षम नेतृत्व चयनका लागि पत्रकारले आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । पत्रकारले सधैँ तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पत्रकारले कुनै पार्टीको प्रचारप्रसार गर्न हुँदैन, पत्रकारमाथि कसैले पनि औँला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।”
अध्यक्ष पोखरेलले नेपाली पत्रकारिता क्षेत्र तटस्थ छ भनेर स्थापित गर्न जरुरी रहेको बताउँदै आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । “पत्रकारको आफ्नै पनि आचारसंहिता छ, आचारसंहिता पालनाले पत्रकारलाई चरित्रवान बनाउँछ”, उहाँले भन्नुभयो । निर्वाचनका बेला सरकार र निर्वाचन आयोगको भूमिका, राजनीतिक दल र उम्मेदवारको एजेण्डा, मतदाताको सुरक्षा लगायतका विषयलाई पत्रकारले सुक्ष्म रुपमा अध्ययन गर्नुपर्नेमा उहाँको जोड थियो । मतदातालाई भयरहित हिसाबले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न पत्रकारले कलम चलाउनुपर्ने उहाँको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र र भयरहित निर्वाचनको प्राणवायु आचारसंहिता भएको उल्लेख गर्नुभयो । आचारसंहिता पालनामा अझै पनि सरोकारवाला गम्भीर हुन नसकेको भन्दै उहाँले सबैले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पत्रकारले यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले सूचना प्रवाह गर्ने काममा प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्ज्वल पौडेललगायतले पत्रकार आचारसंहिताका विषयमा धारणा राख्नुभयो ।