काठमाडौं । नेपालमा अबको १० दिन स्थानीय तह नेतृत्वका लागि मतदान हुँदैछ । यतिबेला दलका उम्मेदवारहरु निर्वाचन प्रचारमा जनताको घरदैलो र सभा सम्मेलनमा खटिरहेका छन् । भोट माग्न भ्याइनभ्याइमा रहेका उम्मेदवारहरुका एजेन्टा के कस्ता छन् ? यस विषयमा हामीले नुवाकोटको शिवपुरी गाउँपालिकामा प्रमुख ३ अध्यक्षका दाबेदाबरहरुसँग कुराकानी गरेका छौं ।
केन्द्रीय राजधानीसँग जोडिएको शिवपुरीमा नेपाली कांग्रेस, नेकपा एमालेका एक/एक र नेकपा एकीकृत समाजवादी—नेकपा माओवादी केन्द्रले गठबन्धनमार्फत १ गरी ३ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पदम उप्रेती
अध्यक्षका प्रत्यासी, एकीकृत समाजवादी-माओवादी केन्द्र
शिवपुरीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साझा रुपमा उम्मेदवार प्रस्तुत गरेका छौं । जसमा एकीकृत समाजवादीका तर्फबाट अध्यक्षमा म र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ उम्मेदवार छौं । शिवपुरका ६ वटा वडामा माओवादी केन्द्रले नेतृत्व गर्ने र दुई वटा वडामा समाजवादीले नेतृत्व गर्ने गरी ४२ जनाको मनोनयन गरेका छौं । साझा उम्मेदवारी किन भन्दा शिवपुरी समृद्धिको काम गर्नको निम्ति हो । वामपन्थी हामी उम्मेदवारहरु घोषणा छ, हामी भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार हुन दिँदैनौं । विगतका भ्रष्टाचारलाई सुधार्छौं । त्यसकारण हामीले उम्मेदवारी दिएका छौं ।
जनताका शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जनलगायतमा हामी नेपाल सरकारले दिने स्रोतले मात्रै पुग्दैन । विभिन्न गैरसरकारी संस्था, दाताहरुसँग आर्थिक तथा प्राविधिक सहयोग लिएर यहाँको जनताको आर्थिक समृद्धिमा लगाउँछौं । त्यस्तै यहाँका युवाहरुलाई रोजगारी सिर्जना गर्ने, दक्ष युवाहरु उत्पादन गर्ने, शिवपुरीकै जनताका लागि शिवपुरी कोष भन्ने खडा गर्छौं । त्यो कोषले विकास निर्माणका कामहरुलाई अगाडि बढाउँछ । अनि एक घर एक रोजगार, एक गाउँ एक उत्पादन, एक वडा एक उद्योग । जहाँ विदेश जाने युवाहरुलाई अथवा महिला दिदीबहिनीहरुलाई काम गरेर दक्ष बनाउन सकियोस् । हाम्रो चाहना छ, सोच छ । त्यो सोचका कारण उम्मेदवारी दिएका हौं ।
यस्तै शिवपुरीमा अलपत्र भएका विकास निर्माणका कमलाई हामी पूरा गर्छौं । त्यत्तिमात्रै होइन हामी शिवपुरीको राजनीतिक दल, विज्ञ, विभिन्न संघ संस्थामा आबद्ध हुनुभएका महानुभावहरुलाई बोलाएर कसरी शिवपुरी समृद्ध बनाउन सकिन्छ भनेर योजना बनाउँछौं । शिवपुरीमा पर्यटनको सम्भावना छ । यसका पर्यटकीय स्थलहरु विकास गर्ने र पर्यटन हब बनाउने हाम्रो लक्ष्य छ । अर्को कुरा हाम्रो लक्ष्य कृषि र पशुपालन हो । यसलाई व्यावसायिकरण नगरीकन शिवपुरीको समृद्धि सम्भव छैन । त्यस्तै यस भेगमा बाँदर आतंक छ, त्यसलाई नियन्त्रणको योजना बनाउनेछौं । जनतालाई साँच्चै सरकारले काम गर्यो भन्ने अनुभूति दिलाउने छौं । यसैमा विश्वास गरेर जनताले हामी ४२ जनालाई नै निर्वाचित गर्नुहुनेछ भन्ने आशा लिएको छु । म शिवपुरीमा क्याप्टेन हुँ, मेरो दायित्व ती ४२ जनालाई नै विजय गराउनु हो । त्यसकारण शिवपुरीवासी आमा, बुबा दाजुभाइ, दिदीबहिनीहरुमा वैशाख ३० गते हुने निर्वाचनमा कलम र हँसिया हथौडामा मतदान गरी हामीलाई विजयी गराइदिनु हुन म विनम्र अनुरोध गर्दछु ।
गोविन्दप्रसाद थपलिया
अध्यक्षका प्रत्यासी, नेपाली कांग्रेस
शिवपुरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्दै गर्दा ‘सवल स्थानीय सरकार समुन्नत गाउँपालिका, सचेत नागरिक जवाफदेखि नेतृत्व’ भन्ने नाराका साथ अगाडि बढेका छौं । नुवाकोटको शिवपुरीमा हाम्रै पार्टीले ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षदेखि ८ वटा नै वडामा निर्वाचित भएको हो । यो पाँच वर्षमा शिवपुरी गाउँपालिकामा भौतिक संरचनादेखि धेरै कामहरु अगाडि बढेका छन् । यो हुँदाहुँदै पनि अब जनताको जीवनस्तर सुधार्नका निमित्त विशेषगरी हामीले शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा शिवपुरी गाउँपालिकालाई समृद्ध बनाउनुपर्छ भन्ने नै हाम्रो एजेन्डा हो । त्यसका निम्ति दक्ष र उत्प्रेरित जनशक्ति र भौतिक पूर्वाधार र उपकरणका विषयलाई पनि प्राथमिकतामा राखेका छौं ।
गाउँमा पनि नागरिकलाई सहज हुने गरी नजिकै नि:शुल्क, गुणस्तरीय शिक्षा सेवा दिनुपर्छ भन्ने पनि हाम्रो एजेन्डा हो । सबैको स्वास्थ्य बिमा गुणस्तरीय सेवा, सहज र समानुपातिक पहुँच भन्ने पनि हाम्रो एजेन्डा हो । गुणस्तरीय शिक्षा भविष्यको आधार, कांग्रेसको नेतृत्वमा स्थानीय सरकार भन्दै गर्दा प्रतिबद्ध कर्मचारी, स्रोतको उपलब्धता, सिकाई केन्द्रित विद्यालय, जागरुप अविभावक, सबल नेतृत्व उत्प्रेरित शिक्षक, जवाफदेखि प्रणालीलाई विशेष जोड दिएको छु ।
जीतेन्द्र विष्ट
अध्यक्षका प्रत्यासी, नेकपा एमाले
शिवपुरी गाउँपालिका बजार क्षेत्र होइन, काठमाडौंबाट नजिक भए पनि ग्रामीण क्षेत्र हो । यस गाउँपालिकामा धेरै कुराहरुको समस्या रहेको छ । शिक्षा, स्वास्थ्य, सडक, कृषकको समस्या, खानेपानी, सिँचाइदेखि यस गाउँपालिकामा धेरै कुराको समस्या यहाँका नागरिकले झेल्दै आइरहनु भएको छ । शिवपुरीमा सबैभन्दा धेरै समस्या भनेको बाँदरको आतंक छ । यहाँ लगाएका बाली किसानले भित्र्याउन नपाउँदै बाँदरले क्षति पुर्याइरहेको छ । जसले गर्दा यस क्षेत्रका धेरै कृषि योग्य जमिनहरु बाँझो रहेको छ । बालीको संरक्षण गर्न पनि दिनमा एक जना अनिवार्य बस्नु पर्ने बाध्यता रहेको छ । यो क्षेत्र बाँदरकै कारणले उजाड रहेको छ । जसले गर्दा काठमाडौंबाट ल्याएर गाउँमा पेसा व्यवसाय गर्नुपर्ने अवस्था रहेको छ ।
बाँदर नियन्त्रणको लागि अथवा कृषि पेसालाई व्यावसायीकरण गर्ने नेकपा एमालेको धारणा रहेको छ । बाँदरले क्षति पुर्याउन नसक्ने खालका व्यवसायलाई प्राथमिकता दिन सकिन्छ । जस्तै पशुपालन, माछापालन, बाख्रा, कुखुरालगायत कृषि उपजबाट पनि सुरक्षित रहन सकिने र बाँदरले नोक्सान पुर्याउन नसक्ने विषयलाई उठान गरेका छौं । सडकको समस्या यस गाउँपालिकामा रहेको छ हाम्रो एजेन्डा पनि सडक प्राथमिकतामा परेको छ । सामुदायिक विद्यालय धेरै र निजी विद्यालय कम छन् । ती सामुदायिक विद्यालयमा पढाईको गुणस्तर कम भएको हुँदा शिक्षाको विषय पनि प्राथमिकतामा परेको छ ।
व्यवहारिक व्यवसायी शिक्षालाई प्राथमिकता दिने नेकपा एमालेको एजेन्डा रहेको छ । सबै वडामा स्वास्थ्य चौकी र कर्मचारी भए पनि जनताको वास्तविक स्वास्थ्य समस्याको बारेमा अझैसम्मको पनि जानकारी लिन नसकेको अवस्था छ । नेपाल सरकारले नि:शुल्क दिने औषधिको पनि नागरिकलाई गाउँपालिकाले व्यवस्था गर्न सकिरहेको छैन । नेकपा एमाले निर्वाचिन भएको खण्डमा यस गाउँपालिकाको ८ वटा वडामा धुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ । जनताको स्वास्थ्यको बारेमा जानकारी लिने र उपचार सम्भव भएको गाउँपालिकामा नै गर्ने र नभएको खण्डमा अन्य माथिल्लोस्तरका अस्पतालमा पठाउने हाम्रो योजना रहेको छ ।
कृषिलाई व्यवसायीकरण गर्ने, गाउँका सानातिना उद्योगलाई प्राथमिकता दिने हाम्रो धारणा हो । यस गाउँपालिकामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्ने पर्याप्त सम्भावना रहेको छ । शिवपुरी गाउँपालिकाको सबैभन्दा सुन्दर ठाउँ काठमाडौंबाट १० किलोमिटरमा पुगिन्छ सुइरेचौर, गुर्जेभन्ज्याङबाट हिमालदेखि धेरै ठाउँहरु हेर्न सकिन्छ । त्यहाँ अहिले बन्जीजम्पदेखि प्याराग्लाइडिङ पनि सुरु भएको छ । त्यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको रुपमा विकास गर्ने हाम्रो धारणा रहेको छ । भोलि रोजगारीको रुपमा जनताको आर्थिक संमृद्धिको निम्ति पर्यटन व्यवसाय गरेर पनि शिवपुरीको जनतालाई समृद्ध शिवपुरी, खुसी नागरिक बनाउने हाम्रो लक्ष्य छ ।