काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न जिल्ला सभापतिहरुले आग्रह गरेका छन् ।
महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुद्धिकरणले मात्र सुनिश्चित गर्ने भन्दै बिहीबार जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरुको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न सभापति देउवालाई आग्रह गरिएको नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।
कांग्रेस जिल्ला सभापतिहरुले शतप्रतिशतभन्दा बढी इन्ट्री भएका, पार्टीको तहगत सिफारिस नभई सोझै माथिबाट थपिएका तथा अन्य पार्टीबाट समायोजनका नाममा बिनाआधार जथाभावी इन्ट्री गरिएका नामहरु अविलम्ब हटाउन र तहगत सिफारिस भएर पनि ईन्ट्री नभएका नामहरु तत्काल समावेश गर्न पनि देउवालाई आग्रह गरेका छन् । वडा भेलामार्फत वडा कार्यसमितिले माईन्यूट गरी पठाएको दस्तावेज (हार्डकपी)लाई मात्र आधिकारिकता दिन उनीहरुको आग्रह छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले क्रियाशील सदस्यतासक्न्धी समस्याहरु समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरे पनि आजको दिनसम्म कुन कुन जिल्लाका कुन कुन समस्या के कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्ने कुरा अझै सार्वजनिक नगरिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । त्यस्तै जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानबिन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरी/गुनासोहरुको के कति संम्बोधन भयो, भएन वा हुँदैछ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सबै तहका साथीहरु यतिखेर अन्योलग्रस्त, त्रसित, आतंकित र भयक्रान्त रहेको देउवालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
जिल्ला सभापतिहरुले उठाएका जायज आवाजमाथि पटक पटक उपेक्षा हुँदै आएको भन्दै क्रियाशील सदस्यतासँग जोडिएका सवालहरुको समाधानलाई लिएर आजसम्म जिल्ला सभापतिहरुसँग कुनै परामर्श नगरिएको स्मरण गर्दै विधि, पद्धति र मापदण्डअनुसार समाधान खोज्ने कुरामा आफूहरु सहयोग गर्न सदा तत्पर रहेको उनीहरुले बताएका छन् ।
पार्टीको वैधानिकता र क्रियाशील सदस्यताको पारदर्शितासम्बन्धी सामूहिक चासो र चिन्ताको गंभीरतापूर्वक हल नखोजिएमा कठोर कदम चाल्नसमेत बाध्य हुने पनि चेतावनी दिइएको छ ।