काठमाडौं । नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको यस क्षेत्रका जानकारहरूले औँल्याउनुभएको छ ।
उहाँहरूले शैक्षिक उन्नयनका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्ने र शिक्षकलाई उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिनुभएको छ । सल्लाघारी अल्मुनाइ एसोसिएशनको आयोजनामा आज काठमाडौँमा भएको एक विचार गोष्ठीमा शिक्षा क्षेत्रका जानकारहरूले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याउनुभएको छ ।
उक्त एसोसिएशन नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयद्वारा सञ्चालित विद्यालय, माहविद्यालय, तथा स्वास्थ्य विज्ञान अध्ययन संस्थानबाट अध्ययन पूरा गरेका विद्यार्थीको छाता सङ्गठन हो । आज सैनिक मुख्यालय जङ्गी अड्डामा भएको गोष्ठीमा नेपालको शिक्षा, सैनिक आवासीय माध्यामिक विद्यालयका शिक्षा र विश्वमा अभ्यास भइरहेका शिक्षा प्रणालीका विषयमा समेत विमर्श भएको थियो ।
विचार गोष्ठीमा प्रा. डा.मनप्रसाद वाग्ले, डा.कर्ण राना, शिक्षा मन्त्रालयका हरि लम्साल, कमलसिंह राठौर, प्रा जयराज अवस्ती, प्रा. हेमन्त शमेर राणालगायत विभिन्न क्षेत्रका सैनिक आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापककोसमेत सहभागिता थियो । गोष्ठीमा ‘राष्ट्रिय राष्ट्रियता र पहिचान शीर्षकमा छुट्टै सत्र सञ्चालन भएको एसोसिएशनका सचिव बालगोपाल कार्कीले जानकारी दिनुभयो । वक्ताहरूले नेपालको परम्परागत शिक्षा प्रणालीलाई आत्मसात् गर्दै त्यसैको जगमा टेकेर आधुनिक शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक विकासका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै आधुनिक शिक्षा प्रणालीको विकासका लागि यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिनुभयो । उहाँले आजका कार्यक्रमको विषयमा प्रतिवेदन प्रकाशित गरी सम्बन्धित निकायमा पठाउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । एसोसिएशनले यसअघि खेलकूद, शिक्षा, विभिन्न क्षेत्रमा राहत वितरण, रक्तदानगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।
एसोसिएशनले प्रतिवेदन तयार भएपछि शिक्षा मन्त्रालयसहित सैनिक आवासीय महाविद्यालय तथा सरोकारवाला निकायमा पेश गर्ने जनाएको छ ।