काठमाडौं । २६ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको ईशान बाल तथा महिला अस्पतालले अब आफ्नै भवनबाट सेवा सुरु गर्ने भएको छ । वैशाख २५ गते आइतबारदेखि नयाँ भवनबाटै सेवा सुरु गरिने अस्पताल संचालक समितिका सदस्य, निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक (पेडियाट्रिक चिफ ) प्रा.डा रामनन्दप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको लागि झण्डै ४० करोड खर्च भएको छ । ०७६ वैशाखमा सुरु गरिएको भवन निर्माण कोरोना महामारीका कारण निर्धारित समयभन्दा ढिला सम्पन्न भएको हो ।
काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ५ मा रहेको ईशान अस्पतालको नयाँ भवन सवा ६ रोपनी जग्गामा निर्माण गरिएको छ । नयाँ अस्पताल भवन पुरानो बसुन्धारामा रहेको ईशानको ३ सय मिटरको दुरीमा उत्तरतर्फ रहेको छ । नयाँ भवन बालबालिका र वातावरणमैत्री रहेको अस्पतालले बताएको छ । निर्देशक चौधरीका अनुसार ईशानलाई बुटिक अस्पतालको कन्सेप्टमा संचालन गर्ने तयारी भइरहेको छ ।
पुरानो भवन भाडाको भएको हुँदा सोचेअनुसार नागरिकलाई सेवा प्रदान गर्न नसकेकोले अबका दिनमा नागरिकले चाहेअनुसार सेवा प्रदान हुनेमा विश्वस्त रहेको अस्पतालले जनाएको छ । हाल ठाउँ अभावले इसानले ५० शय्यामा नागरिकलाई सेवा दिँदै आइरहेको थियो भने नयाँ भवनमा सय वेड संचालन गर्न सक्ने क्षमता भएको र सोहीअनुसार तयारी भएको छ ।
बालबालिकाको ल्याप्रोस्कोपीमार्फत पनि शल्यक्रियालाई अझ प्राथमिकताका साथ सेवा दिइने अस्पतालको भनाइ छ । पेडियाट्रिक आईसियू वेडको अब ७ वेडको हुनेछ, आईसीयूभन्दा फरक किसिमको एचडियु पनि ८ वेडको रहने छ । अस्पतालमा बालबालिकाको लागि फरक-फरक किसिमको तस्बिरहरु पनि कोरिएको छ । महिलाहरुको लागि पनि ल्याप्रोस्कोपी सेवालाई अझ प्रभावकारी रुपमा विस्तार गरिएको छ ।
बालबालिकाको मिर्गौला, मुटु, आन्द्रा, नशा, फोक्सो,ब्लड क्यान्सर लगायत सम्पूर्ण रोगको अत्याधुनिक सेवाका लागि अस्पताल लागिपरेको छ । ओपीडी कम्प्लेसमा बालबालिकालाई खेल्न, भुलाउनका लागि सहज हुने गरी अस्पताल बनाइएको छ । यस्तै बालबालिकामा लाग्ने विभिन्न खालका चोटपटकहरुको उपचार अहिलेसम्म पनि राम्रोसँग प्रदान गर्न नसकेको भन्दै अस्पतालले इर्मेजेन्सी ट्रमा सर्भिस पनि दिने तयारी गरेको छ ।
अन्य व्यक्तिका लागि पनि सेवा
ईशान बाल तथा महिला अस्पतालमा बालबालिका र महिलाको मात्रै उपचार भन्ने पहिचान बनेको थियो । अन्य नागरिकको लागि पनि विभिन्न विभाग संचाल हुँर्दै आए पनि अब नयाँ भवनबाट ति सेवाहरु अझ विस्तारि गरिने अस्पतालले जनाएको छ । अस्पतालको इर्मेजेन्सीमा आईसोलेशन सहितको ८ वटा वेड रहेको छ । नयाँ भवन थपिएसँगै अस्पतालले बाट डेन्टलको सेवा पनि प्रभावकारी बनाउँने तयारी गरिरहेको छ । बालबालिका र अन्य व्यक्तिको डेन्टलसम्बन्धी उपचार गर्ने व्यवस्था गरिएको छ ।
थपिएका सेवाहरु
नि:सन्तान दम्पतीको लागि आईभिएफ सेवा पनि सुरु गर्ने तयारीमा अस्पताल लागि रहेको छ । महिलाको उपचार गरिरहँदा यस्ता समस्या भएका अथवा जिज्ञासा बोकेर आउने पनि हुनुहुन्छ । उहाँहरुलाई लक्षित गरे आईभिएफ सेवा संचालन गर्न लागिएको हो । बालबालिकादेखि सबै उमेर समूहका व्यक्तिलाई फिजियोथेरापीको पनि व्यवस्था गरिएको छ । आँखा,नाक, कान तथा घाँटीसम्बन्धी स्वास्थ्य समस्याको उपचार सेवा पनि अस्पताले नयाँ भवनसँगै थपेको छ ।
यस्तै निर्देशक चौधरीले अस्पतालमा रगत परीक्षणका सम्पूर्ण मेसिन अस्पताल आफैले खरिद गरेको र ल्याबसम्बन्धी सम्पूर्ण कामहरु पनि अस्पतालबाट नै हुनेछ । अप्रेसन थ्रिएटरको दायरालाई पनि बढाइएको छ । वरिष्ठ बालरोग विशेषज्ञ तथा अन्य चिकित्सकबाट पनि हप्ताको सातै दिन २४ घण्टानै आकस्मिक सेवा प्रदान गरिने छ ।
यस्तै ओपिडि सेवा बिहान सात बजेदेखि साँझ ८ बजे सम्म विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिने अस्पतालले जनाएको छ । नयाँ भवनमा सरे पनि अझ यो सेवा प्रभावकारी हुने देखिन्छ ।
सामान्य आर्थिक अवस्था भएका नागरिकलाई धेरै सेवा प्रदान गर्दै आएको यसलाई निरन्तरता दिइनेछ । यस्तै हाईक्लासका नागरिकको लागि डिलक्स क्याविनको व्यवस्था गरेको जनाएको छ । नयाँ भवनबाट सेवा सुरु गरे पनि अस्पताले अहिले सेवा शुल्कमा कुनै पनि घटबढ नगरेको जनाएको छ । नेपालको पहिलो गैरसरकारी बालबालिकासम्बन्धी अस्पतालको रुपमा चिनाउँदै आएको इसानले आउँदो दिन अझ प्रभावकारी सेवा प्रदान गर्ने विश्वास प्रदान गरेको छ ।