सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा ३ जना उम्मेदवारको धेरै चर्चा छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र पोखरेल, नेकपा एमालेको तर्फबाट महेन्द्र श्रेष्ठ र जसपाको तर्फबाट बन्दना सुवेदीले उम्मेदवारी दिनुभएको छ । गठबन्धनको तर्फबाट कांग्रेस र माओवादी केन्द्रको मात्रै उम्मेदवार दिइएको छ । गठबन्धन चित्तबुझ्दो नभएपछि एकीकृत समाजवादीले पनि सुवेदीलाई मेयर पदमा उठाएको हो ।
जिल्लाकै केन्द्रविन्दूको रुपमा हेरिँदै आएको कमलामाई नगरपालिकामा ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एमालेको गठबन्धन हुँदा मेयर र उपमेयर दुवै पदमा निर्वाचिन भएको थियो । यस पटक भने माओवादीसँगको गठबन्धनमा कांग्रेसका जिल्ला सभापति पोखरेल हुनुहुन्छ । उहाँ ०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा पराजित हुनुभएको थियो । विकासतिर लम्किँदै गरेका नागरिकवासीको भोट आफ्नो पक्षमा पार्नको लागि यस पटक भने उम्मेदवारले हदै सम्मको प्रयास गर्नुपर्ने देखिन्छ । ग्लोबल मिडियाले कमलामाई नगरपालिकाका मेयरका तीनै जना उम्मेदवारलाई कस्ता विषयवस्तु अघि सार्नुभएको छ भनेर सोधेको छ ।
उपेन्द्र पोखरेल
मेयर प्रत्यासी, कांग्रेस-माओवादी गठबन्धन
हामीले गठबन्धनको तर्फबाट १६ प्रतिबद्धता पत्र जनतामाझ प्रस्तुत गरेका छौं । जुन नगरवासीलाई आवश्यक र अति नै समयसान्दर्भिक पनि छ । लामो समयको छलफलपछि नगरवासीको हकमा काम गर्नकै लागि बनाइएको प्रतिबद्धता पत्र हो । जनतामा र व्यवसायीमाथि परेको करको मार ५० प्रतिशत घटाउने छौं, नगरपालिकाभित्रका अब्बल र जेहेन्दार विद्यार्थी चार जना । २ जना पुरुष, २ महिलालाई नगरपालिकामा चिकित्सा विज्ञान क्षेत्रमा अध्ययनको लागि छात्रवृत्ति कोष खडा गरी अध्ययनको व्यवस्था मिलाउनेछौं । जसले नगरभित्र रहेको स्वास्थ्यसम्बन्धी मानवस्रोत विकासमा टेवा पुग्ने हाम्रो विश्वास छ ।
प्राविधिक इन्जिनियर स्वास्थ्य अमिनी, वन विज्ञानसँग सम्बन्धित विषयमा नेपाल सरकारको छात्रवृत्ति हासिल गर्न तयारी कक्षाका लागि नगरपालिकाले आफ्नो नगरमा आवश्यक पर्ने मानव स्रोतको अध्ययन गरी उक्त संख्यालाई लाग्ने शुल्क पूर्ण सहयोग गर्नेछौं । नगरपालिकाभित्र रहेका गरिब घरधुरीको पहिचान गरी ३ महिनासम्म खान पुग्ने परिवारको लागि वर्ष दिनसम्म खान पाउने वा पुग्ने कुराको सुनिश्चितता गर्नेछौं । यस्तै परिवारको तथ्यांक संकलन गरी वर्ष दिनभन्दा कम खान पुग्ने परिवारहरुलाई सिप तालिमको व्यवस्था मिलाई स्वरोजगार बनाई व्यवसाय सन्चालनका लागि आर्थिक अनुदानको व्यवस्था मिलाउने छौं ।
गरिब घरधुरीका परिवारको लागि प्रयोग गरिएको खानेपानी तथा विद्युत् महसुल पूर्णरुपमा मिनाहा गर्नेछौं । पाँच कठ्ठाभन्दा कम जमिन भएका ग्रामीण किसानका लागि सबै किसिमको कर छुट गराउनेछौं । नगरपालिकास्तरमा भएका उच्च शिक्षा संचालित प्राविधिक क्याम्पसहरुलाई आर्थिक अनुदान दिने व्यवस्था मिलाई शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिँदै उत्पादित जनशक्तिलाई रोजगारीको सुनिश्चित गर्नेछौं ।
कमलामाई नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिने छ । नगरपालिकाभित्र रहेका हरेक राजमार्गसँग जोडिएको र समुदायसम्म पुगेको बजार क्षेत्र भित्रका सबै सडकलाई कालोपत्रे बनाउने छौं र हाल सबै वडामा पुगेको तर स्तरउन्नति गर्नु पर्ने सडकलाई कालोपत्रे बनाउन सक्ने अवस्थासम्म पुर्याउनेछौं ।
बजार क्षेत्रमा देखिएको ट्राफिक अस्तव्यस्ततालाई व्यवस्थापन गरी निश्चित क्षेत्रमा पार्किङको व्यवस्था मिलाउनेछौं । हाल स्टल बजार र तरकारी बजारमा अभाव देखिएको सार्वजनिक शौचालयको व्यवस्था गर्नेछौं, युवा तथा युवतीहरूलाई ध्यानमा राखि आईटी प्रविधिलाई सबैको पहुँचमा पुर्याउन नगरपालिकाभित्र आवश्यक र सम्भावित क्षेत्रमा वाईफाई फ्री जोनको व्यवस्था मिलाउने छौं ।
यस्तै धर्म संस्कृति जगेर्नाको लागि विभिन्न धार्मिक समुदायहरुको संस्कार र सम्पदालाई प्राथमिकतामा राखि उहाँहरुको आस्था र सम्मानको लागि योजना तर्जुमा गरी लागू गरिनेछ । पार्कको व्यवस्था, मर्निङ वाक र इभिनिङ्ग वाकको लागि र साइकल यात्रीको समेत आवश्यकतालाई ध्यानमा राखि सडक तथा राजमार्गमा व्यवस्थित लेनको व्यवस्था गर्नेछौं ।
स्वास्थ्यलार्ई ध्यानमा राखि एउटा आधुनिक एक्सरसाईज क्षेत्रको व्यवस्थापन गरी योगा जिम र ध्यान केन्द्र निर्माणको लागि बजेट विनियोजन गरिनेछ ।
नगरपालिकाभित्र रहेको सिन्धुलीगढी, माइस्थान र सिद्धबाबा मन्दिर क्षेत्रमा व्यवस्थित र आधुनिक पिकनिक स्पट निर्माण गराउने छौं ।
महेन्द्र श्रेष्ठ
मेयरका प्रत्यासी, नेकपा एमाले
०७४ सालको स्थानीय निर्वाचनमा एमालेको नेतृत्वको सरकारले गरेको कामलाई निरन्तरता दिँदै त्यसैको जगमा टेकेर थप नयाँ कामहरु गर्नेछौं । जसमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटकलाई प्राथामिकताका साथ अगाडि लैजाने छौं । कमलामाई नगरपालिकाको खानेपानी सबैभन्दा विकराल समस्याको रुपमा रहेको छ । खानेपानीको समस्या भएको ठाउँमा नगर समिति गठन गर्नेछौं र एक घर एक धारा निर्माण गर्नेछौं । जहाँ धारा नजाने ठाउँमा एक घर एक चापाकलको व्यवस्था गर्ने छौं । जसको कारण नगरपालिकाको साढे १५ हजार घरधुरीमा खानेपानीको समस्या छैन भन्ने पाँच वर्षको कार्यकालमा बनाउनेछौं ।
स्वास्थ्य बिमाको सवालमा नगरवासीको गरिबी र असहायको परिचयपत्र बनाउनेछौं । त्यसैको आधारमा लगभग ४ हजारको संख्यामा यस्ता घरधुरी होलान् असहाय घरधुरीको परिचयपत्रबाट प्रत्येक घरधुरीबाट स्वास्थ्य बिमाको कार्यक्रम गर्नेछौं । कमलामाई नगरपालिकाभित्र ब्लड बैंक छैन, नगरपालिकाको १४ वटा वडाका नागरिकलाई ब्लड आवश्यक परेको खण्डमा नि:शुल्क उपलब्ध गराउने व्यवस्था गर्नेछौं । जसको लागि निर्वाचित भएको खण्डमा नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा ब्लड बैंक संचालन गर्ने छौं ।
सिन्धुली अस्पतालको चाप बढ्दै गइरहेको छ । गुणस्तरीय स्वास्थ्य शिक्षा काठमाडौं, पोखरालगायतका ठूला सहरमा लिन जानुपर्ने बाध्यता छ नागरिकलाई आवश्यक स्वास्थ्य शिक्षा सिन्धुलीमै दिन हामीले जोड गर्ने छौं ।
मदन भण्डारी राजमार्ग पनि सम्पन्न हुने तयारीमा छ सम्पन्न भएपछि यातायतको चाप झन् तीव्र गतिमा हुन्छन् । बीपी राजमार्गमा सडक साँधुरो हुँदा दैनिक दुर्घटना भइरहेको छ, उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं लानु पर्ने बाध्यता छ । यो बाध्यतालाई छुटकारा दिनको लागि कमलामाई नगरपालिका भित्र ट्रमा सेन्टर संचालनको लागि पहलकदमी गर्ने छौं । पाँच वर्षको विचमा ट्रमा संचालन पनि गर्नेछौं ।
पर्यटकीय हबको रुपमा सिद्धबाबा मन्दिरलाई विकास गर्ने योजना पनि छ । ढुङ्ग्रेबासबाट सिद्धबाबासम्म पक्की सडक बाटो निर्माण गर्ने कार्य पनि हाम्रो योजनामा रहेको छ । जुन मन्दिरकै नामबाट कमलामाई नगरपालिकाको नाम राखिएको सो मन्दिरको पनि वृद्धिविकास हुन आवश्यक रहेको छ । मन्दिर परिसरदेखि बीपी राजमार्जसम्म पक्की पुल बनाउने छौं । पिकनिक स्पटलगायत विषयलाई पनि प्राथमिकतामा राखेका छौं । कमलामाई नगरवासीले चर्कोरुपमा उठाइराख्नुभएको विषय भनेको कर । करले होइन रहर तिर्नुपर्ने होस भन्ने विषयलाई रहरले तिर्ने अवस्था हामी बनाउनेछौं । करको दायरालाई फराकिलो बनाउने छौं, खानेपानी, आफ्नो घरसम्म राम्रो सडक, अस्पतालमा सिटामोल जतिबेला पनि पाइयोस् भन्ने नागरिकको चाहना छ । यी विषयलाई हामी निर्वाचित भएको खण्डमा कर करले होइन रहरले तिर्नुपर्ने हामी बनाउने छौं ।
बन्दना सुवेदी
मेयर प्रत्यासी, जसपा
हाम्रो पार्टीको केन्द्रबाट नै प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । त्यसमध्ये स्थानीयस्तरको आवश्यकता विशेषताअनुसार हामी आफैले धेरै विषयवस्तुलाई अघि सारेका छौं । स्थानीय निर्वाचनलाई हामीले कसरी बुझेका छौं भने संघीयताको मुख्यजग स्थानीय निर्वाचन हो । ०७२ सालको संविधान जारी भएर यहाँसम्म आउँदा संघीयता झन् बढी मजबुद र बलियो हुनुपर्नेमा कमजोर भएको देखिएको छ ।
संघीयताप्रति नै नागरिकको नकारात्मक धारणा बन्दै गइरहेको छ । यसको अन्त्यको निम्ति हामीले विशेषगरी गर्नुपर्ने काम के हो भने स्थानीय सरकार या संघीयताले जनतालाई अधिकार घरघरमा पुर्याउने भनेर यसको मूलमर्म भनेको त्यो हो । तर अहिले पाँच वर्षसम्म हामीले जुन अभ्यास गर्यौं त्यो अभ्यासले संघीयता जनतालाई अधिकार दिनुभन्दा पनि जुन प्रकारले बोझिलो बन्दै गइराखेको छ, यसको अन्त्य गर्नु नै मेरो पहिलो प्रतिबद्धता हुनेछ ।
स्थानीय सरकार निर्माण भएपछि करको दायरा बढाउनुपर्ने ठाउँको मूल्य बढाउने जनताको सेवक बन्नेभन्दा पनि शासक बन्ने काम भइरहेको छ म कमलामाई नगरपालिकाको मेयरमा निर्वाचिन भएको खण्डमा यस्ता कुराको अन्त्य गर्नेछु । सुशासन, प्रभावकारी सेवा प्रदान गर्ने नीति र नेपालका हरेक परिवर्तनको आन्दोलनमा महिलाले उल्लेख्यनीय भूमिका प्रदान गर्दै आएका छन् । महिलाहरुको सहभागिताले परिवर्तन सम्भव भयो । तर पछि राज्य सत्ता संचालनका अंगहरुमा जसरी महिलाहरुलाई असक्षम अयोग्य ठानिएको छ । हिजो लडाइँमा अगाडि लगाउने र शासन सत्ता संचालनमा सधैंभरी पछाडि पारिने जुन खालको सस्कारको विकास भएको छ, यसविरुद्ध पनि मेरो उम्मेदवारी हो ।
अहिलेसम्मको अभ्यासमा हेर्दा जहाँ महिलाको नेतृत्व रहेको छ । त्यहाँ बढी सुशासन र सदाचार कायम भएको पाएका छौं ।