टीकापुर । स्थानीय तहको निर्वाचन हुन अब एक साता मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षाका दृष्टिले संवेदनशील मानिएको कैलालीको टीकापुरमा चुनावी अभियानमा लागेका राजनीतिक दल शान्ति र सुरक्षाका सवालमा आफूहरु संवेदनशील रहेको बताउँदै आएका छन् । यहाँका राजनीतिक दलले आपसमा मैत्रीपूर्ण वातावरणमा प्रचारप्रसार गर्नाका साथै समाजमा सकारात्मक सन्देश ल्याउन मित्रवत व्यवहार गरी प्रतिस्पर्धा गर्दै आएको बताएका हुन् ।
नेकपा एमालेले निर्वाचनमा उम्मेदवारको सुरक्षाका लागि युवा सङ्घ, विद्यार्थी र स्वयंसेवक परिचालन गरेको छ । स्वस्थ प्रतिस्पर्धा भइरहेकाले यहाँ समस्या नभएको र कार्यकर्तासहित सौहार्दपूर्ण वातावरणमा प्रचारप्रसारमा खटिएको नेकपा एमालेका नगरअध्यक्ष धुव्र खत्रीले बताउनुभयो । ‘‘हामी पटकपटक निर्वाचन कार्यालयसँग छलफल गरेर, मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिएका छौँ, साथै आचारसंहिता पालनालाई पनि ध्यान दिएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा होमिँदा यहाँको शान्तिलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’’
निर्वाचनको समयमा कुनै घटना हुन सक्छन् । मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवार तथा दलका नेता रातिसम्म कार्यकर्ता भेटघाट र अन्य कार्यकतालाई फकाएर आफ्ना पक्षमा पार्न विभिन्न आश्वासन दिने काम गर्दछन् । यस्तो बेला सुरक्षा चुनौति हुनसक्छ । सत्ता गठबन्धनमा रहेका दलले पनि प्रचारप्रसारको कार्य संयमित भएर गरिरहेको बताएका छन् । गठबन्धनले उम्मेदवारको घरदैलो कार्यक्रमको तालिका प्रहरीलाई दिनाका साथै प्रहरीसँग समन्वय गरेर आफ्ना चुनावी गतिविधि अघि बढाइरहेका नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज बालकृष्ण चौधरीले बताउनुभयो । ‘‘स्थानीय चुनावबाट स्थानीय सरकार बनाउने कार्य भएकाले यसमा एकअर्कालाई असर गर्ने गरी मैदानमा होमिन आवश्यक छैन । हामी आफ्ना एजेण्डा र प्रतिबद्धता लिएर अगाडि बढेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी छन् । हामीले उम्मेदवारको सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेर अघि बढेका छौँ ।’’
चुनावी अभियानका क्रममा शान्ति र सुरक्षा कायम गर्नु सबैको दायित्व हो । यसका लागि सबै जिम्मेवार बन्न आवश्यक छ । निर्वाचनमा बढी चर्चा भइरहेको नागरिक उन्मुक्ति पार्टीले पनि टीकापुरमा चुनावी कार्यक्रम गर्दा मैत्रीपूर्ण वातावरणमा अघि बढाइरहेको केन्द्रीय सदस्य रमेश विकले बताउनुभयो । ‘‘हामी थप संयमित छौँ, कहिलेकाही हामी ¥यालीमा हुँदा अर्को पार्टीको ¥याली आएमा हामीले उनीहरुलाई पहिला जान दिइरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘हामी यहाँको समाजलाई कसरी एकसुत्रमा बाँध्न सकिन्छ भन्नेमा जिम्मेवार छौँ ।’’
इलाका प्रहरी कार्यालयले उम्मेदवारको कार्यतालिकाअनुसार सुरक्षा दिने, आचारसंहिता पालनामा सचेत गराउँदै सुरक्षामा ध्यान दिइरहेको छ । राजनीतिक दलको भरपर्दो सहयोग भइरहेको त्यहाँका प्रहरी प्रमुख हेमराज शाहीले बताउनुभयो । ‘‘हामीले केही समस्या आए दल र उम्मेदरवासँग समन्वय गछौँ, अहिलेसम्म कुनै समस्या छैन’’, उहाँले भन्नुभयो, ‘‘हामी यहाँ सौहार्दपूर्ण वातावरणमा निर्वाचन होस् भनी शान्ति र सुरक्षामा खटिएका छौँ ।’’
दलहरु पनि निर्वाचन आफूहरु र व्यक्तिबीचको प्रतिस्पर्धा भए पनि निर्वाचन पछि फेरि यही समाजमा बस्नुपर्ने भएकाले संयमित भएको बताउँदै आएका छन् । निर्वाचनलाई निर्वाचनकै रुपमा मात्र लिइ स्वस्थ प्रतिस्पर्धा गर्न र समाजमा सकारात्मक सन्देश दिन दल पनि सचेत हुन आवश्यक रहेको राजनीतिक अगुवाहरु बताउँछन् । टीकापुरमा स्थानीय तहको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइन्छ । निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी, सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिपर्धा हुने देखिएको यहाँका राजनीतिक जानकारले बताए । उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारु, गठबन्धनबाट नेपाली कांग्रेसका नवराज रावल, नेकपा एमालेका श्याम खत्री र गठबन्धनबाट असन्तष्ुट स्वतन्त्र उम्मेदवार शिव थापाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।