भीष्मराज ओझा
काठमाडौं । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् ।
गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो ।
अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताउनुभयो । उहाँका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो । भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।
सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
काम नलाग्ने भएपछि लावारिस छाड्ने क्रम बढ्दो
पुनःस्थापना केन्द्रमा हाल काठमाडौँ, ललितपुर र भक्तपुरका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि लावारिस छाडिएका दुई दर्जन बढी घोडा, खच्चड र गधा छन् । केन्द्रमा स्याहार र उपचारका लागि पशु चिकित्सकसहित प्राविधिक र अन्य कर्मचारी खटिएका छन् ।
कार्यकारी निर्देशक जोशीले सो पुनःस्थापना केन्द्रको अवधारणा सन् २००९ देखि इँटा उद्योगमा काम गर्ने गधा, खच्चड र घोडाका लागि औषधोपचार गर्ने र यो जनावर पाल्ने समुदायमा चेतनाको स्तर बढाउन तालिम दिने उद्देश्यले ल्याएको बताउनुभयो ।
संस्थाले घाइते घोडा, खच्चड र गधाको उद्धार गरी पुनःस्थापना केन्द्रमा ल्याउने र उपचार गरी त्यही राख्ने गरेको छ । यो उनीहरुको बारेमा थप जान्न चाहनेका लागि अध्ययन तथा सिकाइ थलो पनि बनेको उहाँले बताउनुभयो । केन्द्रमा हाल हिकाष्ट कलेजका पशु चिकित्सक विषयमा अध्ययरत विद्यार्थीले ‘इन्टर्न’ गरिरहेका छन् ।
खासगरी माटोका भाडा बनाउने कसगर, धोबी र कलन्दर समुदायले गधा पाल्ने गर्छन् । कामको सिजनमा देशभरका इँटाभट्टामा इँटा बोक्ने काममा प्रयोग गर्ने र अन्य समयमा बाँकेको नेपालगञ्ज, महोत्तरी, रौतहट, सिरहालगायत तराई क्षेत्रमा माटाका भाँडा बजारसम्म बोक्ने तथा पहाडमा ढुवानीको साधनका रूपमा गधाको प्रयोग गर्ने गरिन्छ ।
अनौपचारिक तथ्याङ्कानुसार हाल नेपालमा एक लाख ५० हजारको हाराहारीमा अश्व प्रजातिका घोडा, खच्चड र गधा रहेको अनुमान छ । तीमध्ये घोडा र खच्चडको सङ्ख्या तुलनात्मक धेरै भएपनि गधाको सङ्ख्या भने न्यून हुँदै गएको छ । यही अवस्था रहीरहे यो लोपोन्मुख जनावरको सूची हुने उहाँले बताउनुभयो । नेपालमा गधाको प्रजनन ज्यादै न्यून हुने गरेको र अधिकांश भारतका विभिन्न स्थानबाट भित्रिने गरेको छ । घोडा र खच्चड भने नेपालका पहाडमा बढी देखिन्छन् ।
एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने पहाडमा ढुवानीका लागि महत्वपूर्ण योगदान रहेको गधा संरक्षण राज्यका तर्फबाट प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । गधालाई घरपालुवा जनावरमा नराखी भारवाहक पशुका रूपमा राखिएको छ ।
स्पष्ट कानुन नहुँदा बिमा गर्न समस्या
स्पष्ट कानुन नहुँदा यसको बिमा गर्न पनि समस्या रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो । अश्व प्रजातिका जनावर बढी पाइने र काम हुने स्थानमा पशु चिकित्सकीय सेवा र तालिम प्रदान गरी यससम्बन्धी सूचना र सचेतना बढाउन उहाँले माग गर्नुभयो । तराईको सम्म मैदानमा बस्ने र काम गर्ने गधालाई उच्च पहाडी भू–भागमा कामका लागि लैजान नहुने उहाँको धारणा छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐनको मर्मअनुरुप पशु कल्याण सुनिश्चित गर्न पशु कल्याण निर्देशिका, २०७३ जारी गरेको सूचना अधिकारी डा प्रदीपचन्द्र भट्टराईले बताउनुभयो ।
यसैगरी नेपालमा हालसम्म घोडाको मात्र व्यावसायिक प्रजनन केन्द्र रहेको छ । नेपाली सेनाले चितवनको भरतपुरमा घोडा प्रजनन केन्द्र स्थापना गरेको छ । प्रजनन केन्द्रमा हाल माउ र बच्चा गरी १०० घोडा रहेको र प्रत्येक वर्ष उमेरले परिपक्व भई चढ्नलायकका घोडा काठमाडौँ ल्याइ तालिम गराउने गरिएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँको नारायणहिटी दरबार परिसरभित्र सेनाको उपत्यका कमाण्डअन्तर्गत नेपाल क्याभलरी रहेको र हाल त्यसमा १२० घोडा छन् । सेनासँग रहेका घोडामध्ये प्रजननअनुसार पर्सेरियन, अनुबेरियन र अरेबियन गरी तीन प्रकारका छन् भने काममा प्रयोग गरिनेअनुसार सबैभन्दा सानो घोडा ‘पोनी हर्स, त्यसभन्दा ठूलो ‘राइडिङ हर्स’ र सबैभन्दा ठूलो ‘कार्ट हर्स’ रहेका छन् ।