नुवाकोट । जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साईबाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ मा रहेको जनकल्याण सामुदायिक पाठशालाका ४ विद्यार्थीलाई दुई वर्षे छात्रवृत्ति प्राप्त हुने भएको छ ।
एनआरएनए कान्साई छात्रवृत्ति सार्वजनिकका लागि आइतबार जुम भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा एनआरएनए कान्साई एवं छात्रवृत्ति संयोजक दिलीप शर्माले छात्रवृत्ति प्राप्त विद्यार्थी र उनीहरुका लागि आर्थिक सहयोगदाताको नाम वचान गरेर सुनाउनुभएको हो । जसअनुसार जनकल्याणमा अध्ययनरत रोजिना तामाङ, सजिन तामाङ, गोकर्ण भण्डारी र निश्चल केसीलाई छात्रवृत्ति उपलब्ध हुने भएको छ ।
संयोजक शर्माका अनुसार गोकर्णलाई एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, सजिनलाई एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरे, रोजिनालाई एनआरएन कान्साईका सल्लाहकार टीकाराम कँडेल र निश्चललाई अनुप पौडेलले आर्थिक सहयोग गर्नुहुने छ ।
यस्तै, पञ्चकन्या गाउँपालिका ३ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत ममता तामाङलाई पनि सोही अवधिको छात्रवृत्ति परेको छ । ममतालाई एनआरएनए कान्साईका पूर्वसंयोजक तथा हालका सल्लाहकार भूमिराज दवाडीले स्पोन्सर गर्नुहुनेछ ।
संयोजक शर्माको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले विशिष्ट अतिथि, एनआरएन जापानका क्षेत्रीय समितिका संयोजकहरु, कान्साईका पदाधिकारीहरु, विभिन्न संघ संस्था र सरोकारवाला व्यक्तिहरुको सहभागिता थियो ।
कार्यक्रम एनआरएनए कान्साइका सचिव तेजप्रकाश गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संयोजक शर्माले करिब दुई महिनाअघि सरस्वती पूजाको दिन आवेदन खुला गरिएको र त्यस अवधिमा प्राप्त ४३ वटै आवेदक विद्यार्थीलाई नै छात्रवृत्तिमा समावेश गरिएको प्रस्ट पार्नुभयो । एनआरएनए कान्साईको कार्यसमितिको अवधि पनि दुई वर्ष हुने भएकोले पछिलाई निरन्तरता दिइयोस् भन्ने उद्देश्यअनुरुप छात्रवृत्ति वार्षिक प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले उपलब्ध गराइने संयोजक शर्माले बताउनुभयो । उहाँले छात्रवृत्ति रकम सदुपयोग होस् भन्ने एनआरएनए कान्साईको अपेक्षा रहेको पनि बताउनुभयो ।