काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो ।
भदौ १० गतेबाट उपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । कात्तिक ८ गते समापन हुने लिगमा देशभरबाट ७८ क्लब सहभागी हुने छन् । यसअघि एन्फाले २५ जिल्लाका ७९ क्लब सहभागी हुने जनाए पनि तालिका सार्वजनिक हुनुअघि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिएको थियो । युनाइटेडका प्रतिनिधिले कोरोनाको कारण लिग नखेल्ने जानकारी गराए ।
एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब छन् । तालिकाअनुसार एक क्लबले दुई खेल खेल्नेछन् ।
एन्फाकाअनुसार प्रत्येक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नकआउट चरणमा ३ समूह रहेको छ । अन्तिम तीन समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन् ।
तालिका सार्वजनिक कार्यक्रममा बोल्दै एन्फा लिग संयोजक विज्ञानराज शर्माले सी छनोटमा क्लबहरुको सहभागिता उल्लेख्य रहेको र आगामी वर्षमा झनै बढ्ने बताउनुभयो । यस्तै उहाँले अर्को वर्षबाट पायक पर्ने प्रदेशमा छनोट खेल खेलाउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
‘यस पटक उल्लेख्य क्लबहरुको सहभागिता रहेको छ । अर्को सिजनमा झनै बढ्नेछ । अर्को पटक हामीले पायक पर्ने प्रदेशमा खेल आयोजना गर्नेछौं,’ शर्माले भन्नुभयो ।
यस्तै शर्माले सी छनोटमा राम्रो प्रदर्शन गर्ने खेलाडीले नेपाल सुपर लिगमा स्थान पाउने बताउनुभयो ।
लिग कमिटीका निर्देशक संजिब मिश्रले क्लब आफैले खेलाडीको इन्स्योरेन्स गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले भ्याक्सिन लगाएको खेलाडीले पीसीआर गर्नु नपर्ने र दर्शकविहीन खेल आयोजना हुने बताउनुभयो । लिगमा बागमती प्रदेशबाट ६१ क्लब, प्रदेश नम्बर १ बाट ७ तथा अन्य प्रदेशबाट दुई दुई क्लब रहेका छन् ।