इलाम । पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाममा थप कमजोर बन्नुभएको छ ।
खनालको सचिवालयले उहाँ नयाँ गठन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पक्षमा रहेको सार्वजनिक गरेको छ । खनालका समर्थकहरुले त्यसको चर्को आलोचना गरिरहेका छन् ।
खनालले तत्कालीन नेकपाको विवादका बेला गृहजिल्लाका समर्थक गुमाउनुभएको थियो । पार्टी विभाजनपछि खनालले आफ्नो पक्षमा रहेका कार्यकर्ताको साथसमेत गुमाउनुभएको छ । नेकपाको आन्तरिक कलहमा प्रचण्डको पक्षमा उभिएका नेता खनालले प्रदेशसभा सदस्य र स्थानीय तहका नेताको सथर्मन गुमाउनुभएको थियो ।
त्यसबेला खनाललाई माई नगरपालिकाका मेयर दिपक थेवे, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले छाडेर ओली कित्तामा लाग्नुभएको थियो । त्यस्तै उहाँकै निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित काजिमान कागतेले पनि खनालको साथ छाड्नुभएको थियो । त्यस्तै एमाले जिल्ला अध्यक्षसमेत रहेका राम राना पनि खनाल नेपाल समूहबाट बाहिरिएर ओली कित्तामा उभिनुभएको थियो ।
खनाललाई इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले समर्थन गर्दै आउनुभएको थियो । पार्टी विभाजनको पक्षमा खुलेपछि सन्दकपुर गाउँपालिका अध्यक्ष राईलेसमेत उहाँलाई छाड्नुभएको छ । एमालेको नेतृत्व खराब भए पनि पार्टी खराब नभएको भन्दै राई पार्टी विभाजनको विपक्षमा उभिनुभएको हो ।
सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुलीले नेकपाकालीन विवादको बेलाबाटै खनाललाई छाड्नुभएको हो । सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले एक वर्षअघि पार्टीभित्रको विवादकै बेला आफू जहाँ सूर्य चिन्ह रहन्छ, त्यहाँ रहने भनेर घोषणा गर्नभएको थियो । तर अहिले उहाँसमेत विभाजनको पक्षमा खुल्नुभएको छैन ।
माइजोगमाई गाउँपालिका अध्यक्ष जेवी राई भने खनालको पक्षमा वकालत गर्ने गरेकाले उहाँ पार्टी विभाजनमा खनाल जता लाग्छन् उतै लाग्ने सम्भावना छ । प्रदेशसभा सदस्य खिनु लङवा लिम्बु पनि विभाजनको पक्षमा खुलेर उभिनुभएको छैन । तर उहाँले खनाललाई साथ दिने सम्भावना रहेको पार्टी निकट स्रोत बताउँछ । इलाममा १० स्थानीय तहमध्ये तीन स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।
तीनमध्ये रोङ गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । फाकफोकथुम र माङसेबुङ्गमा उपाध्यक्ष एमालेले जितेको थियो । ती दुई उपाध्यक्ष पहिलेदेखि नै ओली कित्तामा थिए । अन्य सात पालिकाका उपाध्यक्षसमेत पार्टी विभाजनमा खनालको पक्षमा छैनन् । एमालेले प्रदेशसभामा तीन सिट जितेको छ । एउटा माओवादी केन्द्रले जितेको थियो ।
तीन मध्ये दुईले खनाललाई साथ दिएका छैनन् भने एक जना अहिलेसम्म खुलेकी छैनन् । पार्टी संगठनभित्र पनि खनाललाई साथ दिनेको संख्या कम छ । विगतमा खनाललाई सघाउँदै आएका जिल्ला कमिटी उपाध्यक्ष भक्त केसी अहिले मौन हुनुहुन्छ । नेकपा विवादकै क्रममा खनाल पक्षका धेरैले कित्ता परिवर्तन गरेका थिए । खनाल उपचारका क्रममा भारतमा छन् ।