उदयपुर । मतदान केन्द्र सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली लागेर कटारी नगरपालिका–१० सोरुङ्गछबिसेमा शुक्रबार एक युवकको मृत्यु भएको छ । एक बालक र प्रहरी जवान घाइते हुनुभएकाे छ ।
प्रहरीले चलाएको गोली छातीमा लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै बसिरहेकाे अर्का १४ वर्षीय बालक मोहन श्रेष्ठ खुट्टामा गोली लागेका घाइते हुनुभएकाे छ । त्यसैगरी सर्वसाधारणसँगको झडपमा टाउकोमा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते हुनुभएकाे छ । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । कालिका मावि मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि गोली चलेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयाे ।
मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिजा हुनुहुन्छ । चन्द समूहका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन् । उहाँले कांग्रेस कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताउनुभयाे ।
प्रजिअ यादवले मतदान प्रक्रिया ५ बजेर २० मिनेटमा सकेपछि दलका कार्यकर्ताबीच विवाद उत्पन्न भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामा समेत हस्ताक्षर गर्दैगर्दा अकस्मात बाहिरबाट ढुगांमुढा हुन थालेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।’ सिलबन्दी गर्नेक्रममा ५०/६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएको प्रजिअ यादवले बताए । ‘स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले हवाई फायर गरेको हो ।’
कालिका मावि सोरूङ छबिसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए । त्यसैगरी प्रहरी निरीक्षकको कमान्डमा मोबाइल गस्ती र बाहिरी भागमा नेपाली सेना पनि रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताउनुभयाे ।
प्रहरीले एसएलआरबाट ४ राउन्ड र थ्रीनटथ्री राइफलबाट ४ राउन्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ । कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकीकृत समाजवादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन् । मतदान प्रक्रिया पूरा भई मुचुल्कासमेत गरेर बन्द गरिएको कालिका मावि सोरुङको मतपेटिका सुरक्षित रहेको प्रमुख निर्वाचन अधिकृत दीपक खनालले बताउनुभयाे ।