सुर्खेत । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा अहिलेसम्म छ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये १० जिल्लामध्ये हिमाली जिल्ला डोल्पाका चार, हुम्लाको एक र दैलेखको एक स्थानीय तहमा जनप्रतिनिधि विजयी भएका छन् । यी मध्ये तीन वटा पालिकाहरुमा निर्विरोध भएको थियो ।
डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट अध्यक्ष निर्विरोध भएका छन्। काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध हुनुभएको छ भने छार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरूङ पनि निर्विरोध हुनुभएको छ । यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पनि समाजवादीकै पेमा वाङ्जु गुरूङ निर्विरोध हुनुभएको छ । अध्यक्ष निर्विरोध भएका राना र गुरूङ भने ०७४ को स्थानीय चुनावबाट पनि अध्यक्ष जित्नुभएको थियो । उहाँहरू हालै नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा गानुभएको थियो । त्यहाँ एकल उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध हुनुभएको हो । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध हुनुभएको छ । यस्तै शनिबार डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।
माओवादीबाट अध्यक्षका उम्मेदवार नारसिं रोकायाले ७७० मत पाएर विजयी हुनुभयो भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर पराजित हुनुभयो । यसैगरी उपाध्यक्षमा पनि माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा भने पराजित हुनुभयो । आइतबार बिहान प्राप्त सम्पन्न दैलेखको नौमुले गाउँपालिकाको मत गणनाबाट माओवादीको छवि सुवेदी विजयी हुनुभएको छ ।
०७४ मा कुनैपनि वडा अध्यक्ष सम्म नजितेको माओवादीले सबैभन्दा पहिला आफ्नो वर्चश्व जमाएको हो । सुवेदीले तीन हजार २०० मत पाउनुभयो भने काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत पाउनुभयो । बुढामगर ०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ । उपाध्यक्षमा समाजवादीका गंगबहादुर शाही विजयी हुनुभएको छ ।
उहाँले २८ सय ३४ मत प्राप्त गर्नुभएको छ । उहाँ नौमुले काँग्रेसका सभापति भएपनि काँग्रेसभित्र किचलोबाट दिक्दार भएको भन्दै एकीकृत समाजवादीमा प्रवेश गरेर उम्मेदवार बन्नुभएको हो । नौमुलेमा एमाले तेस्रो भएको छ । हुम्लाको खार्पुनाथमा भने नेपाली काँग्रेसले जितेको छ । त्यहाँ काँग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ काँग्रेस माओवादीका साझा उम्मेदवार हुनुहुन्छ ।
रावलले एक हजार ८१० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार १९५ मत ल्याकाउनुभएको छ । रावल ०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंहले १ हजार ८७२ मत ल्याएर विजयी हनुुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभएको छ । यस्तै खार्पुनाथका पाँचवटै वडामा गठबन्धन निर्वाचित भएको छ। अन्य स्थानीय तहहरुको पनि नजिता आउनेक्रम जारी छ ।