काठमाडौं । यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म नेकपा एमालेले सबैभन्दा बढी १३ वटा स्थानीय तहका प्रमुख / अध्यक्ष पदमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले नौ स्थानीय तह जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्र पाँच स्थानीय तहको प्रमुख / अध्यक्षमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तह जितेको छ । एमालेका उमेदवार मनाङको चामे गाउँपालिका र ङिस्याङ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । मुस्ताङका चार पालिका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोमन्थाङ गाउँपालिका, थासाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्षमा पनि एमाले उमेदवार विजयी भएका छन् ।
यस्तै, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, बझाङको साइपाल गाउँपालिका र थलरा गाउँपालिकाको अध्यक्षमा एमाले उमेदवार विजयी भएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिका, म्याग्दीको मालिका गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिकामा पनि एमाले विजयी भएको छ । नेपाली कांग्रेसका उमेदवार मनाङको नार्पाभूमि गाउँपालिका र नासों गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, डडेलधुराको गन्यापधुरा गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका, डोटीको बडीकेदार गाउँपालिका, गुल्मीको गुल्मी दरबार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस उमेदवार विजयी भएका छन् । यसैगरी, नेकपा माओवादी केन्द्रका उमेदवार डोल्पाको जगदुल्ला गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीका उमेदवार डोल्पाको छार्काताङसोङ गाउँपालिका र काइके गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् । यी दुई पालिकामा एकीकृत समाजवादीका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् ।