पाेखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।
महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याउनुभयो ।
वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गर्नुभयो ।
भरतपुरमा एमालेका सुवेदीको अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७१६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाउनुभएको छ ।
यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाउनुभएको छ । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ ।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ ।