लमजुङ । दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार उहाँले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
निर्वाचन अधिकृत रामप्रसाद आचार्यका अनुसार विजयी गुरुङले तीन हजार ६५ मत प्राप्त गर्नुभएको छ भने, उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका गुरुङले दुई हजार २४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले दुई हजार ५६८ मत प्राप्त गर्नुभएको थियो भने, उहाँका प्रतिद्वन्द्वी एमालेका कृष्णमाया गुरुङले एक हजार ७७४ मत प्राप्त गर्दै पराजित हुन पुग्नुभयो ।
त्यस्तै, पालिकामा छ वडा रहेकोमध्ये गठबन्धनले चार जितेको छ । त्यस्तै, एक वडा एमाले र एक वडामा स्वतन्त्र विजयी भएको छ । वडा नं ६ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा कांग्रेसका मनिष गुरुङले कूल ७०४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६११ मत प्राप्त गर्नुभयो । त्यस्तै, वडा नं ५ को वडाध्यक्षमा नेकपा एमालेका दलबहादुर गुरुङले ४०८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका नरबहादुर गुरुङले १४३ मत मात्र प्राप्त गर्नुभएको दूधपोखरी निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । उहाँका अनुसार वडा नंं ४ मा कांग्रेसकै ओमबहादुर गुरुङले ४३४ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका उत्तम गुरुङले २४० मत प्राप्त गर्दै वडाध्यक्षमा पराजित हुन पुग्नुभएको छ । त्यस्तै, वडा नं ३ मा स्वतन्त्र उम्मेदावर श्याम गुरुङले चार मतान्तरले विजयी हुनुभएको छ ।
उहाँले २२८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी माओवादीका औताराम तामाङले २२४ मत प्राप्त गरेको उक्त निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
त्यस्तै, वडा नं २ मा माओवादीका अमर गुरुङ ६६८ प्राप्त गर्दै विजयी हुन सफल भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका धर्मदन्त दवाडीले २६९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, वडा नं १ मा कांग्रेसकै दुर्गामान गुरुङले ४८१ मतले विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४२६ मत मात्र प्राप्त गर्नुभएको थियो ।
यसअघिको निर्वाचनमा समेत कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यस गाउँपालिकामा आठ हजार ८८८ कूल मतदाता रहेकोमा पाँच हजार ७२६ मत खसेको थियो ।