नुवाकोट । नुवाकोट पञ्चकन्या गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) जित नजिक पुगेको छ । मतगणनास्थलमा खटिएका एक कर्मचारीका अनुसार ५ नम्बर वडाको करिब डेढ सय मत गणना बाँकी रहेको छ । 'पालिकामा माओवादीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार अगाडि हुनुहुन्छ । ४ मा वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ, अब घोषणाका लागि तयारी गर्दैछौं,' ती कर्मचारीले भने, '४ को औचारिक घोषणा गर्दानगर्दै ५ को गणना सकिने र आजै अन्तिम परिणाम घोषणा हुन्छ ।'
गलत मत संख्या नजाओस् भनेर मत परिणाम छिन छिनमा नदिने निर्वाचन अधिकृतसँगको सल्लाह बमोजिम परिणाम ढिला भएको ती कर्मचारीको भनाइ छ । '४ वडा सक्यो । ५ अन्तिम चरणमा रहेको छ । अब १ घण्टामा परिणाम आउने सम्भावना छ', समाचार स्रोतले भन्यो ।
यसअघि जारी परिणामअनुसार माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार तेजबहादुर तामाङ लगभग ३ सय मतले अगाडि हुनुहुन्थ्यो भने कांग्रेसका उम्मेदवार माधवप्रसाद खनाल पछ्याइरहनुभएको थियो ।
यो पालिकामा १ र २ कांग्रेसले र ३ नम्बर वडा माओवादीले प्यानलसहित जितेको छ । अब घोषणा हुने ४ माओवादीले जित्ने पक्का छ भने ५ कांग्रेसको सम्भावना बलियो रहेको जनाइएको छ ।
पूर्वमन्त्रीत्रय रामशरण महत, हितबहादुर तामाङ, प्रकाशरण महतको गृह पालिका पञ्चकन्यामा कसले जित्ला भन्ने चासो देखिएको छ । गत निर्वाचनमा माओवादी उम्मेदवार तेजबहादुर तामाङले जित हासिल गर्नुभएको थियो । दुवै केन्द्रीय नेताहरुबीच आफ्नो पक्षको पडक रहेको र स्थानीय नेता, कार्यकर्ताको चाहनाअनुसार सत्ता गठबन्धन रहेका कांग्रेस र माओवादीबीच पञ्चकन्यामा चुनावी भिडन्त भएको हो ।