रासस,काठमाडौं । पालिका चुनाव अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
७० वटा नगरपालिका र दुई सय ८१ वटा गाउँपालिका गरी तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३८ वटा नगरपालिका र एक सय २२ वटा गाउँपालिका गरी एक सय ६० वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ३१ वटा नगरपालिकाको उपमेयर, एक सय २२ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात सय ५७ वटा वडाध्यक्ष पद जितेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले २० वटा नगरपालिका र ७९ वटा गाउँपालिका गरी ९९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले २३ वटा नगरपालिकाको उपमेयर, ७४ वटा पालिकाको उपाध्यक्ष र एक हजार तीन सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म आठ वटा नगरपालिका र ६७ वटा गाउँपालिका गरी ७५ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै माओवादीले ११ वटा नगरपालिकाको उपमेयर, ६९ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।
नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिकाको मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र नौ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् ।
एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
निर्वाचन कसुरमा कारवाही गर्न निर्देशन
यसैबीच निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैरकानूनी रूपमा हुलदङ्गा, ढुङ्गामुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजय ऐन, २०७३ कारबाहीबारे नेपाल प्रहरीलाई आज स्मरण गराएको छ । कारबाहीबारे आयोगले आज गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।