नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) नेता तेजबहादुर तामाङले मतदाता र आफन्तको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार विजय र्याली निकाल्नुअघि घलेभञ्ज्याङमा आयोजित सभामा मन्तव्य राख्नुहुँदै अध्यक्ष तामाङले आगामी ५ वर्षको कार्यकालमा मतदाता र पञ्चकन्या आमजनताको स्वाभिमानमाथि एक छेउ पनि आँच नआउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
'मलाई मतदाता, शुभचिन्तक, पार्टीका नेता, पञ्चकन्याका मेरा हजारौं जनता र आफन्तजनहरुलाई रामेश तामाङ (तेजबहादुर)ले यस्तो काम गरेर पञ्चकन्याको पार्टी बिग्रियो भन्ने दिन नआउने गरी, शिर नझुक्ने गरी पाँच वर्षको कार्यकालमा म विकास र पञ्चकन्याको समृद्धिका लागि कार्नेछु,' अध्यक्ष तामाङले भन्नुभयो, 'जहाँ सकिन्छ, त्यहाँ छाति खोलेर उच्च शिर गरेर हिँड्ने वातावरणका लागि काम गर्ने प्रतिबद्धता जनाउँछु ।'
आफू नेतृत्वको टिमले गर्ने कामको जसअपजस सिंगो माओवादी केन्द्रलाई जाने भएकोले त्यसमा आफूलाई जनताको खबरदारी पनि आवश्यक रहेको उहाँले बताउनुभयो । 'माओवादी पार्टीले जितेपछि यस्तो भयो, राम्रो हुनुपर्थ्यो भन्ने भोलि होला । राम्रो भयो भने सिंगो पार्टीले जस पाउनेवाला छ । गल्ती भयो भने सिंगो पार्टीले अपजस पाउनेवाला छ,' उहाँले भन्नुभयो, 'म पनि मान्छे हुँ । सबै कुरा देख्न सक्दिनँ । सबै कुरा नबुझेको हुनसक्छ । केही कमीकमजोरी हुन लाग्यो भने तपाईंहरुले खबरदारी गर्नुपर्ने हुन्छ । तिमलाई प्रतिनिधिको रुपमा पठाएको तर तिमले पार्टीका निम्ति अप्ठ्यारो पर्ने खालको काम गर्न लागेको छ । त्यो कारणले यो काम गर्न मिल्दैन । यो-यो काम गर्नुपर्छ भनेर बाटो देखाउने जिम्मेवारी पनि तपाईंहरुको हो । तपाईंहरुले देखाउनुभएको बाटोमा म अगाडि बढ्नेछु । सकेसम्म म नबिग्रिने किसिमले लाग्छु नै ।'
देशमा संघीय व्यवस्था, समानुपातिक, समावेशीता जस्ता समानताको हक र संविधान निर्माणसहित देशको आमूल परिवर्तनमा माओवादीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै पार्टी जोगाउनु पर्नेमा जोडदिनु भयो । उहाँले हजारौं जनताको त्याग र बलिदानबाट माओवादी पार्टी निर्माण भएको भन्नुहुँदै पार्टी सिद्ध्याउन खोज्नेलाई भाटे कारबाही गर्ने चेतावनी समेत दिनुभयो । 'पार्टी सिध्याउन खोज्ने फटाहालाई भने भाटा हान्ने नै हो । अब माओवादी पार्टी बनाउनुपर्छ । बन्छ । किनकि यहाँ हजारौंले पसिना, रगत बगाएर ज्यानको आहुति दिएर यो व्यवस्था ल्याएको हो,' उहाँले भन्नुभयो । उहाँले पुन: विश्वास गरी आफू र आफ्नो टीमलाई जिताउन मतदान गर्नुहुने र अन्य किसिमले अहोरात्र खटिएर सहयोग पुर्याउने मतदाता, पार्टी पंक्तिलाई धन्यवाद दिनुभयो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधबार राति सार्वजनिक मतपरिणामअनुसार माओवादीका उम्मेदवार तामाङ नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनाललाई ३८० मतान्तरले पराजित गर्दै विजय बन्नु भएको हो । उहाँले २०७४ को निर्वाचनमा पनि कांग्रेस उम्मेदवारलाई हराउनुभएको थियो । यस पटकको निर्वाचनमा भने माओवादी पञ्चकन्यामा अध्यक्ष, उपाध्यक्ष, ३ र ४ को वडाध्यक्षसहित प्यानल तथा कांग्रेसले १, २ र ५ वडामा अध्यक्षसहित प्यानल जितेको छ ।
अध्यक्ष तामाङसहितको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिन संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङलगायत हजारौं मतदाता, आफन्त र स्थानीयको घलेभञ्ज्याङमा भीड लागेको थियो ।