नुवाकोट । नुवाकोटमा निर्माणाधीन तल्लो तादी खोला जलविद्युत् परियोजनाका अतिप्रभावित स्थानीय बासिन्दाले विशेष शेयर निष्कासनको माग गर्दै निर्माण कार्य बन्द गर्ने चेतावनी दिएका छन् ।
परियोजना निर्माण अघि बढाएको बुद्धभूमि हाईड्रोपावर कम्पनी प्रा.लि. ले साउन ३२ गतेदेखि स्थानीयका लागि निस्कासन गरेको ४,००,००० कित्ता प्राईमरी सेयर (ipo) प्रति असहमति जनाउँदै प्रभावित नागरिक दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकावासीले परियोजना बन्द गर्ने चेतावनी दिन थालेका हुन् ।
आफूहरुले स्थानीयलाई ४० प्रतिशत विशेष शेयर दिन माग गरे पनि बुद्धभूमिले कानुनी अड्चन देखाउँदै बेवास्ता गर्न लागिएकोले परियोजना निर्माण कार्य बन्द गराउने तयारीबारे छलफल भइरहेको दुप्चेश्वर ५ का राकेश दोङ तामाङले बताउनुभयो ।
प्रभावित क्षेत्रका बासिन्दाले अनलाइन मिटिङ र स्थानीय तहबाट दबाब बढाउँदै लगेका छन् । ४ दशमलब ९ मेगावाट क्षमताको परियोजना दुप्चेश्वर ५ र ६ वडा, तादी ४ र पञ्चकन्या ४ का नागरिक प्रभावित छन् ।
'मर्दापर्दा अत्यावश्यक घाट मासेर बन्दै गरेको हाइड्रोले हामीलाई प्रभावित देखेन । हामीलाई स्थानीय प्रभावित नमान्ने हाइड्रोलाई हामीले हाम्रो घाट सुकाएर पानी किन दिने ? कि लगानी गर्न दे कि घाट दे,' स्थानीय कञ्चन थापाले भन्नुभयो । संघर्ष समिति बनाएर आफ्ना माग स्पष्ट राख्नु पर्ने विषयमा छलफल चलिरहेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्षहरुले आफ्ना नागरिकलाई सुविधा दिलाउन आनाकानी गरिरहेको समेत उनीहरुको आरोप छ । स्थानीयहरुले भदौ ४ गते आयोजनाको ४० प्रतिशत विशेष शेयर निष्काशनको माग गर्दै बुद्धभूमि हाइड्रोपावर कम्पनी महाराजगन्ज काठमाडौंलाई पत्र लेखेका थिए ।
स्थानीयले बुझाएको पत्र
तर कम्पनीले आफूखुसी शेयर निष्काशन गर्न नपाउने र नियमनकारी निकायको कानुन पालना गर्नुपर्ने भन्दै आगामी दिनमा वार्ता र समझदारीबाट अघि बढ्न तयार रहेको मात्र पत्रमार्फत जवाफ दिएको छ ।
कम्पनीको पत्र