काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा नरोक्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विद्यार्थीलाई कोरोना खोपको व्यवस्था र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराएर परीक्षा सञ्चालन गर्न निर्देशन निर्णय गरेको हो । 'पटक-पटक परीक्षा स्थगित हुँदा शैक्षिक सत्र कोल्याप्स हुने र विद्यार्थीको भविष्यमा असर गर्ने भएकाले विद्यार्थीहरुलाई भ्याक्सिनेट गराएर होम सेन्टरमै भए पनि परीक्षा सञ्चालन गर्न समितिले निर्देशन दिएको छ,' समिति सदस्य हितबहादुर तामाङले ग्लोबल मिडियालाई जानकारी दिनु भयो ।
यस्तै इन्जिनियरिङ कलेजहरुको विवादित शुल्कको विषयमा कोभिड-१९ को संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकोले पढाई शुल्कबाहेक अन्य शुल्क नलिन निर्देशन पनि समितिले दिएको छ । 'इन्जिनियरिङ कलेजहरुले भ्रमण, खेलुकद, स्वागत, बिदाई शुल्कसमेत लिने गरेको पाइयो । कोरोना महामारीको समयमा यस्ता कार्यक्रम हुन सक्ने अवस्था छैन । ती शुल्क अबिलम्ब फिर्ता लिने व्यवस्था गर्न पनि निर्देशन दिएका छौं,' तामाङले भन्नु भयो ।
कक्षा १२ को परीक्षामात्र पटक-पटक स्थगित हुँदा विद्यार्थीहरुको भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर परिरहेको समितिको ठहर छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ भने दुई सयभन्दा बढी परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी छ । समितिको निर्देशनपछि शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने जनाउनुभयो ।
साउन ३१ गतेदेखि हुने परीक्षा स्वास्थ्य मन्त्रालय र सीसीएमसीको सिफारिसमा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा स्थगित गर्ने तर त्रिभुवनलगायत विश्वविद्यालय, विदेशी बोर्ड र कक्षा ११ को परीक्षा भने निर्बाध सञ्चालन गर्न दिने भनेर आलोचना भएको थियो ।