काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुका मुद्दा सम्बोधन गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा एक ज्ञापनपत्र पठाउँदै संघले ८ बुँदे सुझाव दिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका विषयमा ती सुझावहरु पेस गरिएको जनाउनुभयो । संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका विषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुन्द्राको संचितिमा समेत बृद्धि हुने आचार्यले बताउनुभयो ।
संघले गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको द्विविधालाई हटाउन आग्रह गरेको छ । संघले गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेका मुलुकहरुमा नेपाली दूतावास तथा कूटनीतिक नियोग स्थापनाको लागि पहल गर्न आग्रह गरेको छ ।
संघले विदेशबाट नेपाल फर्किएका गैरआवासीय नेपालीहरुलाई नयां व्यापार, व्यवसाय सुरु गर्नको लागि ज्ञान, सीप तथा पुँजीको व्यवस्था गर्नको लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न अनुरोध गरेको छ । आचार्यले नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नका लागि तत्काल कानुन बनाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको नीति तथा कार्यक्रममा बनाउन संघले सुझाव दिएको बताउनुभयो ।
नेपालको संविधान २०७२ मा सार्क मुलुक बाहेक अन्यत्र बसोबास गर्ने प्रवासी नेपालीहरुका लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ, तर त्यस सम्बन्धी कानून नबनेकाले अझै लागू हुन सकेको छैन ।