जाजरकाेट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान १० हजार र हुम्लाबाट सुर्खेत आउन सात हजार रूपैंया भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।
नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् ।
नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउनुहुन्छ । 'तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ,' उहाँले भन्नुभयो ।
निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन् । सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ ।
सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ । यस्तै समस्या डोल्पा जानका लागि छ । नेपालगञ्जबाट डोल्पा जाँदा नौ हजार र फर्कँदा पाँच हजार रूपैंया तिर्नुपर्छ । पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ ।