काठमाडाैं। काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत जफत भएको छ। उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल हुनुभएकाे छ।
निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो। कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।
काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएका छन् ।
मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको थियो भने १४ जनाले १० भन्दा कम मत पाए। एक सयभन्दा कम मत पाउने ४५ जना छन्। उपमेयर पदमा राप्रपासहित २७ जना उम्मेदवारको जमानत जफत भएको छ।
मेयरका स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित हुनुभएकाे छ । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याउनुभएकाे छ । एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाउनुभएकाे छ।
काठमाडाैंमा मेयर पदमा खसेको कुल सदर मतको शाहले ३८.६३ प्रतिशत, सिंहकाे २३.९८ प्रतिशत र स्थापितकाे २३.८४ प्रतिशत पाउनुभएकाे हाे । निर्वाचन आयोगका अनुसार जमानत जोगाउन सफल मेयर उम्मेदवारहरू यी तीन जना मात्र हुनुहुन्छ ।
महानगरमा आँखीझ्याल चुनाव चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत (८.६१ प्रतिशत) पाउनुभएकाे छ । राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० (३.६१ प्रतिशत) मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ (०.४० प्रतिशत) मत पाउनुभएकाे छ ।
उपमेयरतर्फ एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर निर्वाचित हुनुभएकाे छ। उपमेयरमा १ लाख २८ हजार ९ सय ७५ सदर भएको आयोगले जनाएको छ। डंगाेलले सदर मतको ५३.२० प्रतिशत ल्याउनुभएकाे छ। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाउनुभएकाे छ। यो सदर मतको १८.४६ प्रतिशत हो।
उपमेयरमै आँखीझ्याल चुनावबाट उठ्नुभएकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३ हजार ६ सय ९५ मत ल्याएर जमानत जोगाउन सफल हुनुभएकाे छ । राप्रपाकी विनिता मगैयाले १२ हजार १ सय ४१ (९.४१ प्रतिशत), लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५ सय ५५ (५.०८ प्रतिशत) मत पाउनुभएकाे छ ।