विनिता तामाङ
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको “गणतन्त्र दिवस” को उपलक्ष्यमा सन् २०१६ देखि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का तत्कालिन अध्यक्ष लुईसाङ वाईवाको परिकल्पना र नेतृत्वमा तथा नेपाली जनसम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मंचको सहकार्यमा सिङ्गो नेपाली डायस्पोराका संघ–संस्थाहरुको संयुक्त आयोजनामा नेपाल र नेपालीहरुको पहिचानलाई अमेरिकाको मुलधारमा स्थापित गर्नको लागि शुभारम्भ गरिएको महाअभियान हो भन्ने मेरो बुझाई रहेको छ ।
यही मे २२, २०२२ मा पाँचौ नेपाल डे परेड विगतको वर्षमा झैँ धुमधामका साथ विश्वकै राजधानी मानिने न्युयोर्क शहरमा गैर–आवासीय नेपाली संघ अमेरिका, न्युयोर्क शाखाको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भयो । कोरोना महामारीको कारण सन् २०२० र २०२१ मा नेपाल डे परेड सम्पन्न हुन सकेन । नेपाल डे परेडलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पछिल्लो नेतृत्वले सन् २०१८ देखि निरन्तर रुपमा विरोध र सामाजिक सद्भाव विगार्ने कार्य बाहेक अरु केही गर्न सकेको छैन ।
आफ्ना असन्तुष्टिहरुलाई फिप्नाको पछिल्लो नेतृत्वले न सामाजिक रुपमा सम्बोधन गर्न सकेको छ, न कानुनी उपचार नै गर्न सकेको छ । केवल फेसवुकमा सिमित रहेर नेतृत्वको आफ्नो व्यक्तिगत असफलताको कुन्ठालाई आत्मारतिको लागि डायस्पोराको सद्भावलाई खलल पुर्याउने कार्य बाहेक अर्को सिर्जनात्मक कार्य फिप्नाले गर्न सकेको छैन । समस्याको आफै समाधान गर्न सामर्थ्य पनि नराख्ने अनि अरुले समाधानको बाटो देखाउंदा समेत अनिच्छुक हुनेहरुको भिडमा रुपान्तरण भएको छ – विगत केहि सालदेखि फिप्ना। विशेष गरेर २०१८ र २०२२ को नेतृत्व ।
२०१९ मा फिप्नाको वर्तमान अध्यक्ष एवं तत्कालिन वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपाल डे परेडसँग सहकार्य गर्ने सम्झौलामा सहमति जनाउदै नेपाली महावाणिज्यदुतवासमा गरेको हस्ताक्षरको मसि सुक्न नपाउदै ज्याक्सनहाइट्समा पुग्दा आफैले गरेको हस्ताक्षर फिर्ता लिएको इतिहास जीवित नै छ ।
पाँचौ नेपाल डे परेडमा त्रि–पक्षीय सम्झौता मार्फत फिप्नाले सम्झौतापत्र सार्वजनिक गरेको हफ्ता दिन नबित्दै उही राजकुमार विष्टले, जो अहिले फिप्नाका अध्यक्ष पनि छन्, उहाँले आफैले हस्ताक्षर गरेर सहमति जनाएको सम्झौता पुनः दोश्रो पटक फिर्ता लिनुभएको थियो ।
फिप्नाको २०२० को नेतृत्वले पनि त्रि–पक्षीय सम्झौता मार्फत नेपाल डे परेडसँग जोडिएको फिप्नाको असन्तुष्टिलाई सम्बोधन गर्न सफल देखिएको थियो। तर त्यो नेतृत्वले कोरोना महामारीको कारण सम्झौता कार्यन्यवन गर्ने अवसर पाएन। “नेपाल डे” मार्फत त्यो नेतृत्वले नेपाल डे परेडलाई विस्तारित गर्न सफल भएको थियो !
यसर्थः यहाँ समस्या नेपाल डे परेड होइन । समस्या नेपाल आदिवासी जनजाति महासंघ अमेरिका हो भन्ने यथेस्ट प्रमाणहरु छन् । असफल नेतृत्वले सधै अर्काको विरोध गर्नुमा आफ्नो सफलता देख्ने गर्छन । फिप्नाको नेतृत्व विगत केही वर्ष देखि यही विरोधको खेतीमा रमाईरहेको देखिन्छ ।
सन् २०१७ अघि जुन किसिमको शाख नेपाली डायस्पोरामा फिप्नाले कायम गरेको थियो त्यो शाख त्यसपछिका फिप्नाको नेतृत्वले देखाउन सकेको छैन । आजभोलि फिप्ना आन्दोलन नभएर, केही आत्माकुण्ठा पालेका असफल नेतृत्वको झुण्डमा परिवर्तन हुँदै गएको छ । यही क्रम जारी रहेमा कुनै दिन फिप्ना त्यहि झुण्डको गुठीमा परिवर्तन हुँदै लोप भएर जाने सम्भावनालाई नकार्न सकिन्न ।
अन्त्यमा,
नेपाल डे परेड सम्पूर्ण नेपालीहरुको शान र पहिचान हो । यसले अनन्तकालसम्म निरन्तरता प्राप्त गर्नेछ । अब उप्रान्त नेपाल डे परेड गैर–आवासीय नेपाली संघ अमेरिका, न्युयोर्क शाखाको नेतृत्वमा र डायस्पोराका संघ–संस्थाको संयुक्त सहकार्यमा सम्पन्न हुने सुनिश्चित भइसकेको छ ।
यसलाई सिङ्गो नेपाली डायस्पोराले अनुमोदन पनि गरिसकेको छ । भुक्नेहरु भुक्दैै गर्छन्, मान्छेहरुले आफ्नो कर्म गर्दै जानुपर्छ, अलमलिनु हुन्न । हाम्रो पुस्ता भाग्यमानी पुस्ता हो जसले न्युयोर्कमा नेपाल डे परेडमा गर्वका साथ हिड्ने मौका प्राप्त गरेका छौं । तपाई हामी सबै गर्व गरौँ – यो हाम्रै पालामा सम्भव भएको छ ।
लेखक तामाङः तामाङ समाज अमेरिकाको अध्यक्ष हुनुहुन्छ