काठमाडौं । ०७२ सालको भूकम्पले भन्दा पनि कोभिड महामारीले देशको अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभिन्न अध्ययन ,अनुसन्धानले पनि बताईरहेको छ । कोभिड—१९ महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव बारे काठमाडौंमा अन्तरक्रिया सम्पन्न भएको छ । लोकपाटी मिडियाको आयोजना र अर्थ मन्त्रालयको सहकार्यमा सम्पन्न अन्तरक्रियामा विभिन्न क्षेत्रका विज्ञहरुले अर्थतन्त्रमा परेको प्रभावको बारेमा विस्तृत रुपमा जानकारी दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले श्रमलाई सम्मान गर्ने गरी समाज रुपान्तरण गर्न नसकेकाले बिचौलीया फाइदामा गएको बताउँनुभयो ।
नेपालको कृषितन्त्रलाई नयाँ प्रविधि अनुसार अघि बढाउँनुपर्ने भन्दै उहाँले शिक्षा पद्दतिमा व्यापक रुपान्तरणको आवश्यकता रहको धारणा राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा वाम वुद्धिजीवी डा.निमान्द रिजालले पाँच पेजको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र,कृषि,विप्रेषण, होलसेल र खुद्रा व्यापार भित्रका मुख्य–मुख्य बुँदालाई उठान गरिएको थियो ।
कार्यपत्रमा टिप्पणीकार दीपक तीवारीले उर्जा क्षेत्र देशको मेरुदण्ड रहेको तर कोभिडले उर्जा क्षेत्रमा निर्माणले गति लिन नसकेको बताउँनुहुर्दै ब्रिक्रिवितरणमा पनि राज्यले ध्यान दिन नसकेको गुनासो राख्नुभयो ।
विभिन्न क्षेत्रका विज्ञहरुले अन्तरक्रिया कार्यक्रममा कोरोना महामारीका कारण प्रभावमा परेको अर्थतन्त्रलाई कसरी उकास्न सकिन्छ भन्ने विषयमा सुझाव दिनुभएको थियो ।
बैदेशिक रोजगारीमा जाने युवालाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्ने,अध्ययनको लागि विदेशिने विद्यार्थीलाई पनि नेपालमै अध्ययनको वातावरण बनाउँनुपर्ने,अन्तरिक पर्यटक,कृषि,निर्माण क्षेत्र,उद्योग कलकारखाना संचालनका साथै मजदुरको पनि समस्या समाधानको बारेमा सरकारले गम्भीर रुपमा सोच्नुपर्ने सुझाव रहेका छन् ।