चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौंडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को बुधबार शिलान्यास गर्दै प्रचण्डले यी जिल्ला मिलाएर विकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो । आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र म प्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब विकासका कामलाई गति दिने कोशिस हुने छ ।” अध्यक्ष दाहालले आफैले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताउनुभयो । नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएकाले यहाँको विकास निर्माणपछि परिएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अबको समय सामाजिक न्यायसहितको विकासमा लाग्नुपर्छ ।”
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा प्रतिनिधिसभा सदस्य प्रमोद शाह, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कम्युनिष्ट नेता तेजेन्द्रबहादुर खड्का, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, विल्डर्सका कार्यकारी निर्देशक जीवन कँडेल, बिरोक एण्ड कम्पनीका अध्यक्ष रादेश पन्त, भरतपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर भरतकुमार आचार्यलगायतले बोल्नुभएको थियो ।
निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजामा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १४ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइ रहने सो प्लाजामा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिक स्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण हुने बताइएको छ ।