काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ ।
भदौ १ गते दिउँसो अचानक 'स्ट्रोक' भएपछि गम्भीर बिरामी टुहुरेको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह निधन भएको नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराउनुभयो ।
नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'सबै प्रयासका बाबजुद जेबी दाइ रहनुभएन । भावपूर्ण श्रद्धाञ्जली ! १.३० देखि २.३० सम्म पेरिसडाँडामा श्रद्धाञ्जली र २.३० पछि पशुपति आर्यघाटमा लाने कार्यक्रम तय भएको छ ।'
यस्तै माओवादीका युवा नेता लेखनाथ न्यौपानेले लेख्नुभएको छ, 'जेबी टुहुरे (जुठबहादुर खड्गी) प्रति भावपूर्ण श्रद्धाञ्जली ! टुहुरे कमरेड, तपाईंलाई सम्मानकासाथ सम्झिरहने छौं !'
काठमाडौंको कलंकीस्थित निवासमा बस्दै आउनुभएका ७६ वर्षीय टुहुरे वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराउनुभयो । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उहाँले २०३४ सालदेखि गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।
उहाँको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो । सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उहाँ दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बन्नुभएको थियो ।