काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, डुबान र पहिरोको समस्या देखिएका छन् । जिल्ला प्रहरी र स्थानीय संवाददाताहरुले दिएको जानकारी अनुसार देशका सात प्रदेशका केही जिल्लामा प्रभाव परेका छन् ।
नवलपरासी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९:०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताउनुभयो । यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पुर्याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।
पोखरा
बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ । बेगनास सिँचाइ प्रणालीअन्तर्गतको बि–४ र र बि–३ नहर क्षेत्रको भुनभुनेमा करिब १५० मिटर नहर बाँध फुट्दा रु एक करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बि–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।
करिब पन्ध्र सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइअन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण यहाँका मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारालगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएएका छन् ।
बागलुङ
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताउनुभयो ।
करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
मकवानपुर
पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । शुक्रबार बिहान ४:३० बजेको समयमा भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पहिराका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् । उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिलो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
कैलाली
पहिराले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देही
रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।
यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताउनुभयो । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।
बाँके
नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षात्ले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।