नुवाकोट । बुद्धभूमि हाईड्रोपावर कम्पनी प्रा.लि. ले स्थानीय प्रभावितका लागि १ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, कम्पनी सञ्चालक र स्थानीय बासिन्दाबीच शुक्रबार भएको छलफलमा प्रभावितका लागि प्रमोटर सेयरबाट १ लाख ६० हजार कित्ता (फेस भ्यालु प्रतिकित्ता १००) सञ्चालकको तर्फबाट सुनिश्चित गर्ने निर्णय भएको हो । उक्त कार्यका लागि ११ सदस्यीय सहजीकरण समितिसमेत गठन गरिएको छ ।
समितिमा दुप्चेश्वर गाउँपालिका अध्यक्ष, पञ्चकन्या गाउँपालिका अध्यक्ष, तादी गाउँपालिका अध्यक्ष, दुश्चेश्वर ५, ६ का वडाध्यक्ष, पञ्चकन्या र तादी वडा नं ४ का अध्यक्षहरु सदस्य रहनुभएको छ ।
यस्तै दुप्चेश्वर ५ का मनोज थापा, तादी ४ का अश्मीन पाण्डे, दुप्चेश्वर ६ का राजकुमार श्रेष्ठ, पञ्चकन्या ४ का वासुसिंह ठकुरी सहजीकरण समितिमा सदस्य रहनुभएको छ ।
शुक्रबारको छलफलमा बुद्धभूमि हाइड्रोपावर प्रा.लि अध्यक्ष पूर्णलाल श्रेष्ठ, दुप्चेश्वर गाउँपालिका वडा नं ३ का ध्रुवकर केसी, वडा ५ का अध्यक्ष सञ्च तामाङ, ६ का वडाध्यक्ष किशोर आचार्य, २ का अध्यक्ष दावा तामाङ, बुद्धभूमि हाइड्रोपावरका सञ्चालक प्रमोद खड्का, बलराम खतिवडा, स्थानीयहरु कमल खतिवडा, रामचन्द्र थापा, सुनिल थापा, नवराज थापा, रामहरि थापा, प्रदीप थापा, सन्तोषकुमार भण्डारी, कमल तामाङ, सुविन थापा, विक्रम थापा, हरि खतिवडा, लक्ष्मण थापा, सुजन चापागाईं, रामकुमार थापा, भूपेन्द्र केसीलगायतको उपस्थिति थियो ।
निर्माणाधीन तल्लो तादी खोला जलविद्युत् परियोजनाले साउन ३२ गतेदेखि स्थानीयका लागि निस्कासन गरेको ४,००,००० कित्ता प्राईमरी सेयर (ipo) प्रति स्थानीयले असहमति जनाउँदै परियोजना बन्द गर्ने चेतावनी दिएपछि शुक्रबारको छलफलपछि सहमति जुटेको हो । स्थानीयले ४० प्रतिशत विशेष शेयर दिन माग गरेका थिए । यसअघि बुद्धभूमिले कानुनी अड्चन देखाउँदै पन्छिन खोजेको थियो । तर स्थानीयको चर्को दबाब परियोजना सञ्चालकहरु थप सेयर निष्कासन गर्न बाध्य भएका हुन् ।
४ दशमलब ९ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर ५ र ६ वडा, तादी ४ र पञ्चकन्या ४ का नागरिक प्रभावित छन् । स्थानीयहरुले भदौ ४ गते आयोजनाको ४० प्रतिशत विशेष शेयर निष्काशनको माग गर्दै बुद्धभूमि हाइड्रोपावर कम्पनी महाराजगन्ज काठमाडौंलाई पत्र लेखेका थिए ।