नुवाकोट । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनयुद्धमा सामेल नुवाकोट पञ्चकन्या गाउँपालिकाका रजिन्द्रविक्रम सिङ ठकुरीले जिल्ला नेतृत्व पाउनुहुने भएको छ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्रबार हुने जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा नेकपा माओवादी केन्द्र नेता ठकुरीको एकल उम्मेदवारी परेको हो ।
नुवाकोटमा बहुमत निर्वाचित माओवादी केन्द्रले नेपाली कांग्रेसलाई जिससमा बहुमत सदस्य दिएको भन्दै तिनै दलका नेता, कार्यकर्ताले नेतृत्वको आलोचना गरिरहेका छन् । नुवाकोटमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा मात्रै माओवादी-कांग्रेस गठबन्धन भएको थियो । फेरि त्यही गठबन्धनलाई निरन्तरता दिँदै समन्वय समितिमा प्रमुखमा माओवादीका ठकुरी, उपप्रमुखमा कांग्रेसका दलबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ ।
प्रमुखमा उम्मेदवारी परेका ठकुरी विसं २०५५ सालबाट माओवादी पार्टीमा आबद्ध हुनुभएको हो । उहाँ ०५८ सालमा गाउँ जनसरकार उपप्रमुख, त्यसपछि नुवाकोट जिल्ला पार्टी सदस्य, हाल पञ्चकन्या गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । उहाँले २०६० सालमा ६ महिना जेल जीवन पनि बिताउनु भएको थियो । मध्यम किसान परिवारमा जन्मिएका ४० वर्षीय ठकुरी पार्टीमा निकै खट्ने नेताको रुपमा चिनिनुहुन्छ ।
यस्तै सदस्यहरुमा कांग्रेसबाट राजेन्द्र श्रेष्ठ, सम्झना सेढाईं, सन्तोषी देवकोटा, कान्छी सुनवार, माओवादी केन्द्र रामचन्द्र पौडेल, मोहन पुडासैनी र धनमाया विकको मनोनयन दर्ता भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचितहरुको औपचारिक घोषणा बिहीबार दिउँसो हुने छ ।