काठमाडौं । वाग्मती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय युवा परिषद्को आयोजना तथा नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको संयोजनमा पत्रकारहरूलाइ दुइ दिने अनुशिक्षण बिहीबार सकिएकाे छ । सञ्चार माध्यममा युवाका मुद्दा विषयक कार्यक्रममा युवा परिषद्ले गरेका र अब गरिने कार्यक्रम बारे अनुशिक्षण गराइएको थियो ।
युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाइँले प्रदेश युवा परिषद् ऐन २०७६ जारी, नियमावली २०७७ जारी, उपाध्यक्ष नियुक्ति लगायत स्थापनाको एक वर्षमा गरिएको कामको बारेमा जानकारी गराउनुभएको थियो ।
वाग्मती प्रदेशका सबै जिल्लाबाट २६ जना पत्रकारहरूको सहभागिता रहेको अनुशिक्षण कार्यक्रममा ८० जना युवालाई रोजगारीको ग्यारेण्टीका साथ चितवन र काभ्रेमा तालिम सञ्चालन भईरहेको, ४० जना युवालाई ३९० घण्टाका. १ लेवलको तालिम सञ्चालन गरिएको, लागुपदार्थ दुर्व्यसन, नैतिक र सामाजिक शिक्षा, युवा व्यवसायीलाई सहयोग गरिने कार्यक्रमलाई पनि परिषद्ले अघि सारेको बताउनुभयो ।
यस्तै युवाको बारेमा खोजमूलक अनुसन्धान, फरक क्षमता भएका युवा व्यवसायीलाई सहयोग गरिने, युवा प्रतिभाको पहिचान, परम्परागत सीपलाई संरक्षण प्रवर्द्धनमा सहयोग गर्ने पनि उपाध्यक्ष चौलागाइँले जानकारी गराउनुभएको थियो । युवा महिला उद्यमीलाई सहयोग, प्राविधिक शिक्षा अध्ययन, दलित सिमान्तकृत वर्गको लागि सहयोग गरिने परिषद्को योजना रहेको कार्यक्रममा उल्लेख गरिएको छ । उहाँले सक्रियता,व्यवसाय र युवालाई कस्ता विषयमा प्राथमिकता दिन सकिन्छ लगायत बारेमा छलफल गराउनुभएको थियो ।
अनुशिक्षण कार्यक्रममा खोज पत्रकारिता केन्द्रका महासचिव वरिष्ठ पत्रकार रामजी दाहालले संचार माध्ययमा युवाका मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सवालमा पत्रकारलाई अनुशिक्षण गराउनुभएको थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सांसद चन्द्र लामाले नेपालको राजनितिमा युवा शक्ति सक्रिय अवस्थामा रहेको बताउनु हुँदै युवाको हक हितमा आफु सदैव लाग्ने बताउनुभयो । युवा परिवर्तनको ठूलो शक्ति भएको भन्दै लामाले आफ्नै देशमा उत्पादन मुलकसिपमा लाग्न सकेको खण्डमा देश र युवा दुबैलाई फाईदा पुग्ने बताउनुभयो । उहाँले आफु सरकारमा र सरकार बाहिर रहँदा युवा शक्तिलाई निरन्तर साथ दिने धारणा व्यक्त गर्दै परिषद्ले पनि विषयवस्तु बुझेर काम गर्न सुझाउनुभयो ।
काभ्रेको धुलिखेलमा सम्पन्न सो कार्यक्रममा परिषद्का कार्यक्रम प्रमुख रमेश घिमिरेले समय र परिस्थिति अनुसार युवाहरुको चाहानालाई मध्यनजर गर्दै युवाका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो । स्थापनाको सुरुवात चरणमा भए पनि वाग्मती प्रदेशको युवाको विकास र हकहितमा निरन्तर परिषद् लागिरहने प्रमुख घिमिरेले बताउनुभयो ।
साथै उहाँले व्यवसायमा अथवा जुनसुकै क्षेत्रका पनि सक्रिया युवाको आवाजलाई संचारमाध्ययमा समावेश गर्न सकेको खण्डमा अन्य युवालाई पनि प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।
पत्रकार महासंघ वाग्मतीका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न अनुशिक्षण कार्यक्रममा महासंघका केन्द्रिय सदस्यद्धय सुनिल खड्का,धुर्व रावल,प्रेस सेन्टर वाग्मतीका अध्यक्ष,प्रेस चौतारी वाग्मतीका उपाध्यक्ष,पत्रकार महासंघ काभ्रेका अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले उपस्थिति जनाउँनुभएको थियो ।