गलेश्वर । म्याग्दीको मालिका–२ रुम गाउँका रुम गाउँका बासिन्दाका पीडामा पछिल्ला पाँच वर्षयता मल्हम लागेको छ । गाउँमा सडक पुगेको छ । यहाँका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ ।
स्थानीय, प्रदेश र संघीय सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको हाे। गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरु सातवटा सडक खुलेका छन् ।
बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौं जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् ।
पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपर्थ्याे। दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडमा बाेकाएर गाउँमा ल्याउनुपर्थ्याे । बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो ।
पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भए पनि सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।
घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुग्यो ।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको पूर्व वडाध्यक्ष नरबहादुर पुनले बताउनुभयो । 'पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो,' उहाँले भन्नुभयो, 'स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौँ रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै सङ्घ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्यलगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।'
पाँच वर्षमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठवटा अन्य सडक निर्माण भएको उहाँले बताउनुभयो । गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ । पूर्व वडाध्यक्ष पुनले भन्नुभयो, 'कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।' सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षमा राम्रो विकास भएको उहाँले बताउनुभयो । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् । विभिन्न स्थानमा गरेर पाँचवटा झोलुङ्गे पुल निर्माण भएका छन् । जसले स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताउनुभयो । गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्य वस्तु पाउन थालेको बताउनुभयो ।