काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको नेता बन्ने अवसर युवाहरुलाई रहेको बताउनुभएको छ ।
पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा शनिबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि नयाँ सेना निर्माण गर्नुपर्ने भन्दै अब समाजवादी क्रान्तिको नेता बन्ने अवसर युवाहरुलाई रहेको बताउनुभएको हो ।
'समाजवादको नयाँ सेना बनाउनु छ । समाजवादी क्रान्तिको नेता हुने अवसर तपाईंहरुलाई छ । युवा साथीहरुलाई छ,' प्रचण्डले भन्नु भयो ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको गठबन्धन तीन उद्देश्यसहित बनेको भन्दै यसलाई अगाडि लैजान युवाहरुले भूमिका खेल्नु पर्ने पनि बताउनुभयो । उहाँले भन्नु भयो, 'गठबन्धन गर्दा तीन कुरालाई मेन भन्यौ, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाका निम्ति यो गबन्धन । यो कुराको आवश्यकता परेसम्म गठबन्धन चाहिन्छ भनेर प्रतिज्ञा गरेका छौं जनताका अगाडि । यो कुरालाई अगाडि बढाउन विशेष सक्रियता देखाउनुहोस् । हिजोको जस्तो रोल होइन । बन्दुक समातेर होइन । अब उत्पादनका औजार बोकेर । सांस्कृतिक रुपन्तरणका लागि जनतासँग गएर जोडिने, जनताको सेवा गरेर । जनपरिचालनलाई नयाँ उचाइमा उठाएर युवाहरुको मन जितेर विज्ञान प्रविधिको प्रयोग गरेर नयाँ सेना बन्नुछ अब ।'
युवाहरु नेतृत्वमा ल्याउन पार्टीले जोड गरिरहेको भन्दै प्रचण्डले त्यसका लागि तयार हुनसमेत आग्रह गर्नुभयो ।
यस्तै अर्थमन्त्री तथा स्थायी समिति सदस्य जनार्दन शर्माले युवालाई उत्पादन र रोजगारीसँग जोड्ने कार्यमा सरकारको सहयोग हुने बताउनुभएको छ । मन्त्री शर्माले युवाहरु बिदेश पलायन रोक्ने र आत्मनिर्भरताका लागि त्पादन र रोजगारीसँग जोड्ने कार्यमा सरकारको तर्फबाट सहयोग हुने बताउनुभएको हो । उहाँले ऐतिहासिक पृष्ठभूमि रहेको वाईसीएल नेपालले १५ लाख युवाहरु संगठित गर्ने मात्र नभई तीनलाई रोजगारी सिर्जना गर्नेतर्फ पनि ध्यान दिन पनि सुझाव दिनुभयो ।
माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका मन्त्री शर्माले युवाहरुलाई गुटबन्दीविरुद्ध उभिएर पार्टी निर्माणमा सहयोग पुर्याउन पनि आग्रह गर्नुभएको छ । पुरानो पिंढीले दुःख गरेर यहाँसम्म ल्याइपुर्याएको क्रान्तिलाई अगाडि बढाउन र उपलब्धिलाई बचाउन पनि युवाहरुले भूमिका खेल्नु पर्ने उहाँको भनाइ थियो ।