काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी प्रवृत्ति भन्ने एउटा, गर्ने अर्को भएकोले ओलीको प्रधानमन्त्री ठगी धन्दा मात्र रहेको टिप्पणी गर्नुभएको छ ।
पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा शनिबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले उक्त धारणा राख्नुभएको हो । 'अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने भनेर ओलीले सही गरेको छ । त्यो तमसुकमा सही गरेपछि त भैहाल्यो भनेको, त्यो त ओलीको प्रधानमन्त्री ठगी धन्दा मात्र रहेछ,' साविकको नेकपा एकताताको प्रसंग कोट्याउँदै प्रचण्डले भन्नुभयो, 'केपीसँग एकता गरेर के पायो भन्ने प्रश्न गर्नेहरुलाई ठूलो ज्ञान पायो भन्ने जवाफ दिने गरेको छु, त्यो ज्ञान कांग्रेस, माधवजी सबैलाई काम लाग्छ ।'
प्रतिक्रान्तिको खतरासँग सजग हुनपर्ने भन्दै प्रचण्डले जितियो भनेर ढुक्क हुने अवस्था नभएको बताउनुभयो । 'जितियो भनेर ढुक्क भएर बस्नु हुन्न, प्रतिक्रान्तिका खतराहरुसँग सजग भैरहनु पर्छ । पहिलो पटकको संसद् विघटन उल्लिटएर प्रतिनिधिसभा पुन:स्थापना हुँदा माधवजी र मैले लड्डु खाइयो तर स्वाद लिन नपाउँदै दुई पार्टी हुने गरी ड्याम्म हान्यो । प्रतिक्रान्तिको खतरासँग सजग हुनु पर्दछ । जितियो भनेर ढुक्क हुने अवस्था छैन,' उहाँले भन्नुभयो ।
कम्युनिस्ट आन्दोलनभित्र प्रतिगमन देखापर्दा वाम ध्रुविकरण टिक्न नसकेको प्रचण्डले बताउनुभयो । 'भयानक प्रतिगमन नै कम्युनिष्ट आन्दोलन भित्रबाट देखा पर्यो । समाजवादी आन्दोलनका लागि गरिएको वाम ध्रुविकरण पाँच वर्ष पनि टिकेन,' उहाँले भन्नुभयो ।
२०३८ सालमा युवा संघको पहिलो भेलामा २७ वर्षमा आफूले नेतृत्व सम्हालेको बेलाभन्दा नयाँ अवस्थामा ०७८ को भेलामा वाईसीएलको रहेको भन्दै युवाहरु तयार नभएमा आफूहरुले फुर्सद नपाउने दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, 'अब समाजवादी आन्दोलनको नेतृत्व तपाईंहरुले गर्ने हो । युवाहरु तयार भएर हामीलाई बिदा दिनु पर्यो । तपाईंहरु तयार नभएसम्म हामीले फुर्सद नपाउने भो । पुरानो पिढीलाई भिन्न भूमिकामा जाने अवस्था युवाहरुले बनाउनु पर्यो'