काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद््का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आइतबार आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उहाँले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
“नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय,क बालगृहलगायत सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुशी लाग्यो ।” कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोेग गर्नुपर्ने बताउनुभयो ।
उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए ।
सो अवसरमा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । यस्तै प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।
क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताउनुभयो । नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।