चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी
भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।
शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ ।
साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ । दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ ।
खारा–खाम्ला सडकको मार्ग खुल्यो
म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ खाराबाट धवलागिरि गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् ।
म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । जलविद्युत् आयोजना निर्माणस्थलमा ढुवानी र आवतजावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।
धवलागिरि गाउँपालिका–खिवाङका किसान पुनले खारा–खाम्ला सडक निर्माण भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका बासिन्दाका साथै धवलागिरि हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई पनि सुविधा पुगेको बताउनुभयो ।
यसअघि खिवाङबाट खारा हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीनदेखि चार घण्टा लाग्ने गरेकामा यात्रा अवधि एक घण्टामा छोटिएको छ । शिवरात्रि, बाँसबोट, खारालगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ । आवतजावत, ढुवानी, जडीबुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयवासीले बताएका छन् ।
धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले वर्षौँअघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनालाई गति दिन पहल र सहजीकरण गरिएको बताउनुभयो । खाम्लामा पुगेको सडकलाई खिबाङ पुर्याउन पालिका र प्रदेश सरकारको रु एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भइरहेको पनि उहाँले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र मुनाबाट मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ । अपर म्याग्दी–१ को बाँध निर्माणस्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले विस्तार गरेर नाउरा–बगर हँुदै धवलागिरि आधार शिविर नजिकको दोभानमा पुर्याउन लागेका छन् ।