काठमाडौं । तामाङ समाज उत्तर अमेरिका (टिएसएनए)को शनिबारदेखि हुने दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्कोमा तीन दिनसम्म (१८-२० जुन २०२२) मा हुने महाधिवेशनको तयारी सकिएको पूरा भएको आयोजकले जानकारी गराएको हो । महाधिवेशनमा उत्तर अमेरिकाभरिका विभिन्न १० राज्यका ९ वटा सदस्य संस्था बाट १० जनाको दरले प्रतिनिधिहरू, वर्तमान कार्यसमिति र सल्लाहकार समितिका गरी १२८ जना प्रतिनिधिहरू सम्मेलनमा सहभागि हुने छन् ।
ती राज्यहरुमा क्यालिफोर्निया, कोलोराडो, न्युयोर्क, बोस्टन, टेक्सास, पेन्सानभेनिया, वासिङटन डीसी, कनेक्टीकटलगायत पर्दछ । व्यवस्थापक समितिका अध्यक्ष शेर लामाका अनुसार सहभागी प्रतिनिधिहरुले आफ्नो राज्यहरुबाट आफ्नै खर्चमा आउनु पर्नेछ । महाधिवेशन व्यवस्थापन आयोजक समितिको जिम्मेवारी तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले लिएको छ ।
तामाङ इमर्जेन्सी फन्ड पनि सञ्चालनमा छ जसले संस्थाको कार्य क्षेत्रमा बसोबास गर्ने तामाङलाई आपतकालीन अवस्थामा सहयोग गर्दै आइरहेको छ । इमर्जेन्सी फन्ड र ग्लोबल तामाङ एजुकेसन फन्ड यस संस्थाको उपलब्धि मूलक र ठूलो फन्डको रुपमा मानिन्छ । इमर्जेन्सी फन्ड मार्फत हाल सम्म ५० हजार अमेरिकी डलर छुट्टै समिति मार्फत समुदायलाई सहयोग गरेको संस्थाले जनाएको छ ।
पहिलो दिन उद्घाटन कार्यक्रमसँगै मौलिक तामाङ संस्कृतिसहितको सांगीतिक कार्यक्रम प्रस्तुत गरिने छ । जसका लागि चर्चित कलाकार निमा रुम्बा, छिरिङ लामालगायत कलाकार उपस्थित हुनुहुनेछ ।
तामाङ समाज उत्तर अमेरिका (तामाङ सोसाईटी अफ नर्थ अमेरिका) तामाङहरुको पहिचानलाई अमेरिकाको मूलधारमा स्थापित गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएको हो । समाजको पहिलो महाधिवेशनले लक्यान लामालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो । तर सन् २०२० मा मात्रै विधिवतरुपमा दर्ता भएको छ । यस संस्थाको अगुवाईमा 'ग्लोबल तामाङ एजुकेसन फन्ड २०२०' स्थापना गरिएको छ । नेपालको तामाङ समुदायको विकासका लागि स्वास्थ्य, शिक्षा, राजनीतिकलगायत क्षेत्रमा सहयोग गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ ।
पहिलो सम्मेलन न्युयोर्क राज्यमा भएको थियो भने यस संस्थाको सन् २०१९ को साधारण सभा सेप्टेम्बरको १३ देखि १५ सम्म डिसी भर्जिनियामा सम्पन्न गरिएको थियो ।