सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रसूतिका लागि नि:शुल्क एम्बुलेन्सदेखि मातृभाषा शिक्षासम्मका महत्वपूर्ण निर्णय गरेका छन् ।
अध्यक्ष विमर्श मुक्तानले गाउँपालिकाको स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेको अथवा स्वास्थ्य जटिलताका कारण अन्यत्र प्रसूति गराउन लानुपर्ने महिलालाई गाउँपालिकाले नि: शुल्क एम्बुलेन्सको व्यवस्था गराउने गाउँ कार्यपालिका बैठकले निर्णय ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
‘गाउँपालिकाको स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या भएको खण्डमा सुरक्षित प्रसूतिको लागि नेपालका जुनसुकै ठाउँमा पनि पठाउन नि:शुल्क एम्बुलेन्स व्यवस्था गरिने विषयलाई पनि अघि सारेका छौं,’ अध्यक्ष मोक्तानले भन्नुभयो ।
उहाँका अनुसार गाउँपालिकाभरीका ३५ विद्यालयमा मातृभाषा शिक्षालाई लागू गर्ने तयारी पनि भइरहेको छ । मोक्तानले भन्नुभयो, ‘हामीले मातृभाषाको शिक्षालाई गाउँपालिकामा कार्यान्वयनमा लैजाने विषयलाई अघि सारेका छौं, अहिले तामाङ विद्यार्थीको बाहुल्यता भएको विद्यालयमा यो कार्यक्रम लैजाने तयारीमा छौं, तामाङ पछि मगर र माझी समुदायको विद्यार्थीको बाहुल्यता भएको हुँदा, ती भाषामा पनि अध्ययन गरिने विषयलाई अघि सार्नेछौं ।’
गाउँपालिकाले जेष्ठ नागरिकको प्रत्येक महिना घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने पनि बताउनुभयो । साथै गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । यस बारेमा गाउँपालिकामा थप छलफल गर्न बाँकी भए पनि ४० वर्ष पुगेका एकल पुरुषलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने करिब समझदारी रहेको उहाँले जानकारी दिनुभयो । सकेसम्म आफू नेतृत्वमा आउने स्थानीय तहको पहिलो बजेटमा यो विषयलाई सम्बोधन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट मोक्तान मरिण गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो ।